अष्ट्रेलियामा खोप अभियान सुरु

क्यान्बेरा । कोरोना भाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्ध घोषणा गरेको अष्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा सुरु भएको छ ।
अष्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौँ डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । अष्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।
अष्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ । उक्त समारोहमा अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्ट पनि उपस्थित थिए । गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो ।
त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताए ।
दक्षिण अष्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ ।