गुजरातको एक केमिकल फ्याक्ट्रीमा भीषण विष्फोटसहित आगलागी, २४ जना घाइते

एजेन्सी । भारतको गुजरातस्थित भरुच जिल्लामा रहेको एक केमिकल फ्याक्ट्रीमा भीषण विष्फोट भएको छ ।
स्थानीय झगडिया शहरस्थित यूपीएल–फाइभ केमिकल कंपनीमा आज विहान २ बजे भीषण विष्फोटकासाथ आगलागी भएको हो ।
आगलागीमा परेर २४ जना घाइते भएका छन । कंपनीको सिएम नामक प्लान्टमा यो दुर्घटना भएको हो ।
विष्फोटको आवाज १५ किलोमिटर टाढासम्म सुनिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
घटनास्थलमा पुगेका दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन ।
विष्फोट स्थल नजिकका गाउँहरुमा भू–कम्पको जस्तो कम्पन महसुस गरिएको थियो भने केही मानिसहरु घरबाट बाहिर भागेका थिए ।
युपीएल कम्पनी नजिक रहेका दढेडा, फुलवाडी र करलसाडी गाउँमा रहेका घरहरुका झ्यालका सिसाहरु फुटेका छन ।
दुर्घटनाबाट घाइते भएका २४ जनालाई अस्पताल भर्ना गरिएको छ ।
अघिल्लो बर्ष जुनमा पनि भरुच जिल्लाको एक केमिकल फ्याक्ट्रीमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको थियो भने ७७ जना घाइते भएका थिए ।