बाजुराका ग्रामीण सडकको भाडा निर्धारण : प्रतिकिमी एघार रुपैयाँ « Nagarik Khabar

बाजुराका ग्रामीण सडकको भाडा निर्धारण : प्रतिकिमी एघार रुपैयाँ



मार्तडी । बाजुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका सडकमा सञ्चालन हुँदै आएका जिपको भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रशासनले सर्वपक्षीय भेलाबाट उक्त भाडा दर कायम गरेको हो ।

पूर्वी उत्तरी भेगमा जोडिएको मार्तडी–कोल्टी, मार्तडी गौमुल, मार्तडी आटिचौरलगायत सडकको प्रतिकिलोमिटरमा रु ११ का दरले भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । जिप व्यवसायीले चर्को भाडा लिने गरेको चौतर्फीरुपमा गुनासो आएकाले व्यवसायी, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीलगायत सर्वपक्षीय भेलाबाट उक्त भाडा लिने सहमति भएको गैह्रेले बताए ।

जिप व्यवसायीले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी–कोल्टी र अन्य सडकमा सञ्चालन हुने जिपका लागि भाडा कायम गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी दिए ।

मार्तडीदेखि कोल्टीको प्रतिकिलोमिटर रु ११ का दरले रु ४ सय ७३ भाडादर कायम गरिएको र सो भाडा अन्य ग्रामीण सडकमा चल्ने जिपका व्यवसायीले समेत लागु गर्नुपर्ने प्रहरीप्रमुख महराले बताए । सर्वपक्षीय भेलाले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने र चलाएको पाइएमा कानुनी कारबाही गर्ने निर्णय गरिएको छ । चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने तथा जिपमा भाडादर टाँस्नुपर्ने सो नगरिएमा कानुनी कारबाही गरिने भएको छ ।

यस्तै जथाभावीरुपमा सवारी साधन पार्किङ गर्न नपाइने, दुनिहाट बजारका हकमा साँझ ७ र बिहान १० बजेसम्म मात्र सामान लोड अनलोड गर्ने र सो नगरिएमा कानुनी कारबाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सर्वपक्षीय बैठकमा गरिएको मार्तडी कोल्टी र अन्य ग्रामीण सडकमा सञ्चालन हुने जीपको भाडा प्रतिकिलोमिटर रु ११ का दरले ४ सय ७३ कायम गरिएकोमा व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८ सय रुपैयाँ भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४ सय ७३ रुपैयाँ भाडादर कायम गरेपछि असन्तुष्टि जनाएका हुन् ।

जय मालिका यातायात प्रालि बाजुराका उपाध्यक्ष पृथ्वी रावलले कोल्टी क्षेत्रमा जिपहरु सो भाडामा सञ्चालन गर्न नसकिने भएकाले रिजर्भबाहेकमा जिपहरु पुनः सञ्चालन नगर्ने बताए । जिप व्यवसायी, बडीमालिका नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्रहरीप्रमुख र पत्रकारहरुको सर्वपक्षीय बैठकले उक्त भाडा निर्धारण गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: