हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक « Nagarik Khabar

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक



बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।

मेट एक्स–२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गुगल सेवाबाट बन्चित छ । गत वर्ष, हुवावे विश्व मोबाइल बजारमा बिक्रीका दृष्टिबाट पहिलो स्थानबाट छैटौँ स्थानमा झरेको थियो ।

हुवावेको मेट एक्स–२ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो । यस मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि राम्रो आवाज छ । यस फोनमा हुवावे आफैँले विकास गरेको निकै उन्नत किसिमको किरिन ९ हजार चिप्सको प्रयोग गरिएको छ ।

हुवावेका उपभोक्ता इकाईका अध्यक्ष रिचार्ड यूले एक विज्ञप्ति प्रकाशन गरी पछिल्लो शृंखलाको मोबाइल फोनले प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन सफल हुने विश्वास व्यक्त गरे ।

यूकाअनुसार, मेट एक्स–२ को मूल्य चिनियाँ बजारमा दुई हजार ७ सय ८५ अमेरिकी डलर छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: