बस्तीबस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै « Nagarik Khabar

बस्तीबस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै



महोत्तरी । जिल्लाका बस्तीबस्तीबाट सम्भावनायुक्त क्रिकेट खेलाडी प्रतियोगिताका लागि छनोट गरिँदै छन् । क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट संघ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता २०७७ का लागि अहिले बस्तीबस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको हो ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहको सहभागिता गराइने प्रतियोगिताबाट अन्तर जिल्ला, प्रादेशिक र राष्ट्रिय प्रतियोगिताका लागि उम्दा खेलाडी छनोट हुने जिल्ला क्रिकेट संघ महोत्तरीले अपेक्षा लिएको छ । यसपाली आउने चैत २२ गतेदेखि सुरु हुने अन्तरपालिकास्तरीय यो प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोटको क्रम थालिएको संघका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए ।

“हामीले जिल्लाका सबै पालिकाको सहभागिता गराइने अपेक्षासाथ प्रतियोगिताको तालिका बनाएका छौँ” अध्यक्ष सिंहले भने,“यो प्रतियोगिताको माध्यमले भित्री गाउँ÷नगर बस्तीमा ओझेलमा परेका खेलाडी उजागर हुनेछन् ।” संघले चैत २२ देखि सुरु हुने प्रतियोगिताका लागि यही फागुन २० गतेदेखि चैत १० गतेसम्म जिल्लाका पालिकाले सहभागिताको प्रतिबद्धता जनाउँदै टिम दर्ता गर्ने तालिका छुट्याइएको सिंहले स्पष्ट पारे ।

संघले यो प्रतियोगितामा ३२ लाख खर्च हुने जनाएको छ । “हामीले उत्कृष्ट टिम र खेलाडीका लागि पुरस्कारको व्यवस्था गरेका छौँ” अध्यक्ष सिंहले भने । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु एक लाख एक हजार र दोस्रो हुने टिमलाई ५१ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरिजलाई २० हजार, इमर्जिंग प्लेयरलाई १५ हजार, वेस्ट ब्याट्समान र वेस्ट बलरलाई १०÷१० हजार र म्यान अफ द म्याच हुने खेलाडीलाई दुई हजार ५ सयका दरले प्रत्येक खेलमा प्रदान गरिने अध्यक्ष सिंहले जानकारी दिए ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर रङ्गशालामा आयोजन हुने यो प्रतियोगिताको पोशाक वितरण तथा ट्रफी उद्घाटन चैत १५ गते र खेल तालिका पनि सोही दिन कप्तान, टिम प्रशिक्षक, टिम व्यवस्थापक र प्राविधिक समितिको संयुक्त बैठकबाट टुङ्ग्याइने संघले जनाएको छ । प्रतियोगिता ५० ओभरको प्रणालीमा हुने संघले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: