एमाले अन्तर्द्वन्द्वः डा. पौडेलले यसरी दिए पोखरेललाई ठाडो जवाफ

काठमाडौं । नेकपा एमालेको अन्तरद्वन्द्व उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच एकआपसमा आरोप–पत्यारोप गर्ने सिलसिला चलिरहेको छ।
आज बिहानै ओली पक्षका नेता शंकर पोखरेलले माधव नेपालविरुद्ध नवौं महाधिवेशनमा अध्यक्ष पदमा हारेकाले पार्टीमा अन्तरद्वन्द चर्किएको बताएका थिए । पोखरेलको यो भनाइको नेपाल पक्षका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले ठाडो प्रतिवाद गरेका छन्।
नेता पोखरेलले ट्विट गरेका छन्, ‘बुटवल अधिवेशनबाट एमालेमा दुई कार्यकाल मात्र कार्यकारी पदमा बस्ने विधान बनाइयो। तर नवौं अधिवेशनमा माधव कमरेड आफैं चौथो कार्यकालका लागि उमेदवार बन्नुभो र चुनाव हार्नुभो। आज एमालेभित्रको अन्तरसंघर्षमा त्यही हारको तोडले काम गरेको छ।’
यसै विषयमा डा. पौडेलले पोखरेललाई ट्विटरमै ठाडो जवाफ फर्काएका छन । उनले ओली पक्षलाई छलफल गर्न नचाहेको, बैठकबाट भागेको, बैठक बाहिर आफु अनुकुल निर्णय गरेको जस्ता आरोप लगाएका छन । ट्विट गर्दै डा. पौडेलले भनेका छन, ‘यिनै कुरा बैठकमा राखेर छलफल गर्न किन नचाहेको नि ? बैठकबाट किन भागेको ? बैठकभन्दा बाहिर आफूअनुकुल निर्णय भए बैठकमा जाने नत्र बैठकमै नजाने प्रवृति जिम्मेवार छैन र ? अनि २ जेष्ठ २०७५ मा फर्केर एकता गर्न किन नहुने ? षड्यन्त्रले काम गर्दैन मित्र।’