पाँचौँ एनभिए भलिबल च्याम्पियनसीप : एपिएफमाथि पुलिसको संघर्षपूर्ण जित (हाइलाइटसहित) « Nagarik Khabar

पाँचौँ एनभिए भलिबल च्याम्पियनसीप : एपिएफमाथि पुलिसको संघर्षपूर्ण जित (हाइलाइटसहित)



काठमाडौं । पाँचौँ संस्करणको आरबिबी एनभिए भलिबल च्याम्पियनसीप अन्तर्गत पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टिम एपिएफ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा मंगलबार भएको विभागीय डर्बीमा पुलिसले एपिएफलाई ३–२ को सेटमा हराएको हो ।

पाँच सेटमा पुगेको खेलमा सुरुवाती दुई सेट पुलिसले २५–२१ र २५–२३ ले जितेको थियो । त्यसपछिको दुई सेट लगातार एपिएफले २५–२० र २५–१७ ले आफ्नो बनायो । अन्तिम सेट १५–१३ ले जित्दै पुलिसले खेल आफ्नो बनायो ।

यस जितसँगै पुलिसले ५ खेलमा ८ अंक जोडेको छ । पुलिस तालिकाको चौथो स्थानमा रहेको छ । एपिएफले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

एपिएफ ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ लिगमा हेल्प नेपाल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।

च्याम्पियनसीपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: