भक्तपुर नगरपालिकाले बिस्केट जात्रा सञ्चालन गर्ने, टोलटोलमा हुने स्थानीय जात्राहरू पनि नरोकिने « Nagarik Khabar

भक्तपुर नगरपालिकाले बिस्केट जात्रा सञ्चालन गर्ने, टोलटोलमा हुने स्थानीय जात्राहरू पनि नरोकिने



भक्तपुर । भक्तपुर नगरपालिकाका भित्र हुने सबै खाले जात्रा पर्वहरु नरोकिने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठकले नगरभित्रका सबै जात्रा पर्वहरुलाई सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना संक्रमणको जोखिम बढेको कारण जिल्ला भित्र धेरै मान्छे जम्मा हुने कार्यक्रम नगर्ने र नगराउन निर्णय गरेपनि भक्तपुर नगरपालिकाले भने विस्केट जात्रा सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (डीसीसीएमसी) भक्तपुरको मिति २०७७ /१२ /२२ गते बसेको बैठकले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने जात्रा गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने भन्ने निर्णय गरिसेकेको छ । तर, नगरपालिकाले भने ऐतिहासिक एवं सांस्कृतिक महत्वको भक्तपुरको प्रमुख बिस्केट जात्रा र त्यससँग सम्बन्धित सबै जात्राहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर जात्रा पर्वहरु सञ्चालन गर्ने तयारी गरेको छ । बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, माक्स वितरण गर्नेलगायतका तयारीहरू रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले मानव जीवन रक्षा नै प्रमुख कारण भएकोले यस वर्षको बिस्केट जात्रा सामान्य पूजाआजामा सीमित गर्ने निर्णय भइसकेकोले कोभिड संक्रमण जोखिमका कारण जात्राहरूमा भीडभाड हुने कार्य नगरिदिन आग्रह गरेपनि नगरपालिकाले भने जात्रा पर्वहरु नरोक्ने निर्णय गरेको छ ।

बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले सदियौंदेखि चलिआएको जात्रा र परम्पराहरूको विशेष महत्व हुने भएकाले सन्तुलित ढंगबाट नजिकिँदै गरेको बिस्केट जात्रा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताए

त्यस्तै गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले संस्थानले बिस्केट जात्रासँग सम्बन्धित सम्पूर्ण दायित्व पूरा गरेको बताए । उनले जात्राको समयमा कुनै पनि किसिमको लापरबाही गर्न नहुने बताए ।

जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवाले छिमेकी मुलुकबाट नेपाल भित्रिनेहरुबाट कोभिड संक्रमण बढिरहेको अवस्थामा भीडभाड हुने जात्रा पर्वको समयमा सबैजना सुरक्षित रहन आग्रह गरेका छन् ।

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी सामन्तध्वज खाँड, सशस्त्र प्रहरी उपरीक्षक लीलाबहादुर कार्की, राष्ट्रिय अनुन्धान विभागका उपनिर्देशक विकास पाण्डे, जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवा, तलेजु भवानीका पुजारी प्रजेश राजोपाध्याय, नेपाल विद्युत प्राधिकरण, ख्वप मिनिबस सेवा प्रा.लि., भक्तपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालयबाट प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

बैठकमा बिस्केट जात्रासँग सम्बन्धित इन्द्रायणी, बाराही, ज्याथा गणेश, भैरवनाथ, ब्रम्हायणी, माहेश्वरी, कुटी प्वाक गणेशलगायतका सरोकारवालाहरूले यस वर्षको बिस्केट र बिस्केटसँग सम्बन्धित स्थानीय जात्राहरू शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गर्ने विषयमा आ–आफ्नो राय–सुझावहरू दिएका थिए ।

सरोकारवाला सबै पक्षबीचको छलफलले गरेका महत्वपूर्ण निर्णयहरू

१. बैठकले जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (डीसीसीएमसी) भक्तपुरको मिति २०७७ /१२ /२२ गते बसेको बैठकले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने जात्रा गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने भन्ने निर्णय गरिसेकेकोले ऐतिहासिक एवं सांस्कृतिक महत्वको भक्तपुरको प्रमुख बिस्केट जात्रासंग सम्बन्धित टोलटोलमा हुने जात्राहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सामान्य रुपमा सञ्चालन गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्ने ।

२. कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरवासीहरूको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्री घर–घरमा गई वितरण गर्ने र जनचेतनामूलक माइकिङ, पर्चा वितरण तथा सूचना प्रकाशन गर्ने ।

३. बैठकले यस वर्षको बिस्केट जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा कुनै किसिमको हुलहुज्जत हुन नदिई शान्तिपूर्ण तरिकाले सामान्य रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा एवम् आवश्यक बन्दोबस्त जिल्ला प्रशासन कार्यालय, भक्तपुरलगायत जिल्लाका सबै सुरक्षा निकायले गर्ने  ।

४. बिस्केट जात्रासंग सम्बन्धित जात्रा व्यवस्थापनको लागि गुठी संस्थान, भक्तपुरले आवश्यक सहयोग गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: