कांग्रेसभित्र कुनै विवाद छैन : सभापति देउवा « Nagarik Khabar

कांग्रेसभित्र कुनै विवाद छैन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संकटमा नभएको बताएका छन् ।

नेता नवीन्द्रराज जोशीको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले कांग्रेसले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको पनि बताए । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको ठाकुवा गरेका हुन् ।

“यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांगेस संकटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । धेरै पटक हामी हारेका छौँ । आफैँले आफैँलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन,” देउवाले भने ।

त्यस्तै, देउवाले नेता जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताए । देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाँक्ने नेता गुमाउनुपरेको देउवाको भनाइ थियो ।

त्यस्तै कार्यक्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको असामयिक निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले जोशीले थालेको कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: