तेस्रो वर्षमा नागरिकखबर : निरन्तर निष्पक्ष यात्रा « Nagarik Khabar

तेस्रो वर्षमा नागरिकखबर : निरन्तर निष्पक्ष यात्रा



आज ऐतिहासिक दिन, वैशाख ११ । सार्वभौम नेपाली जनताले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको दिन अर्थात् लोकतन्त्र दिवस । दुई वर्षअघि आजकै दिनदेखि सुरु भएको नागरिकखबर डटकमको यात्रा सफलतापूर्वक यहाँसम्म आइपुगेको छ । नेपालश्री मल्टीमिडिया प्रालिद्वारा प्रकाशित/प्रसारित नागरिकखबर दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ ।

जनआन्दोलन र जनयुद्धको जगमा आजको दिनमा लोकतन्त्र स्थापना भएको थियो । त्यही सफलताको आधारमा हामीले स्वतन्त्ररुपमा सञ्चारका विभिन्न माध्यमबाट अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपयोग गरेका छौं ।

२०७६ वैशाख ११ गते नेपाली पत्रकारिता क्षेत्रमा भिन्न पहिचानसहित नागरिकखबर डटकम शुभारम्भ गरेका थियौं । नागरिकखबरले पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर इमान्दार प्रयासबाट अनलाइन मिडियाहरुको भिडमा आफूलाई फरक देखाउने प्रयास गर्दै आएका छौं । पाठक, दर्शक र स्रोताका अमूल्य सुझावअनुसार प्रस्तुतिलाई परिस्कृत गर्दै आएका छौं । राजनीतिक तथा सामाजिक विकृति, विसंगतिमाथि प्रहार गरेका छौं । भ्रष्टाचार र अनियमिताविरुद्ध हामीले बितेको वर्षमा खबरदारी गरेका छौं ।

लोकतान्त्रिक आन्दोलनका उपलब्धि अझै अर्थपूर्ण रुपमा संस्थागत हुन सकेका छैनन् । भ्रष्टाचार, अनियमितताका श्रृंखला चलिरहेको छ । लोकतन्त्रको उद्देश्यअनुसार राजनीतिक अधिकार प्राप्त भएपनि सामाजिक, आर्थिक क्षेत्रमा नागरिकको अपेक्षाअनुसार काम हुन सकेका छैनन् । लोकतान्त्रिक आन्दोलनमा मिलेर लडेका दल र नेताहरु एकताबद्ध नभएर विभाजित छन् । यसबीचमा जनताको सबैभन्दा बढी मत प्राप्त दल नेकपा विभाजित बन्न पुगेको छ । यसले जनतामा थप निरासा पैदा गरिदिएको छ ।

प्रतिनिधिसभा विघटन गर्नुले झन लोकतन्त्र नै खतरामा पर्ने हो कि भन्ने सर्वत्र चिन्ताको विषय पनि बन्यो । संविधानविपरीत गरिएको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले पुनःस्थापित त गरिदियो, राजनीतिक अस्थिरता भने कायम नै छ । अन्यौलपूर्ण आजको स्थितिमा नागरिकखबरले निरन्तर जनतालाई सुसूचित गरिरहेको छ । खबरदारी गरिरहेको छ ।

आउँदो यात्रामा हाम्रो ध्यान संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनका लागि खबरदारी गर्नुहुनेछ । राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र आमनागरिकको स्वतन्त्रतालाई अझै बलियो पार्न पनि हाम्रो कलम अझ तिखोसँग चल्नेछ ।

नेपाली अनलाइन मिडियामा विश्वसनीयतामा ठूलो गुनासो छ । विषय एउटै तर समाचार ठीक विपरित देखेका पाठकले कुन सही हो र कुन गलत हो भन्ने छुट्याउन नसकेर भ्रममा पर्ने अवस्था उत्पन्न भएको छ । यो गुनासोप्रति हामी सचेत छौं । विश्वसनियता, सन्तुलन र यथार्थतालाई आत्मसात् गरेको हाम्रो यात्रामा पाठक, स्रोता र दर्शकले हामीलाई विश्वास गर्नुभएको छ । यो नै हाम्रो ऊर्जा हो । आगामी दिनमा थप विश्वसनीय, सन्तुलित र यथार्थताका लागि हाम्रा विषयवस्तुलाई परस्कृत गर्दै लैजाने छौं । हिँड्ने क्रममा ठेस लाग्छ । कहिलेकाहीँ हुने स–साना कमीकजोरीलाई तत्काल माफी मागेर सच्याउन हामीलाई हिनताबोध हुने छैन ।

‘नागरिकका लागि नागरिकखबर’ हो । दर्शक, स्रोता र पाठकको सुझाव तथा प्रतिक्रिया हाम्रो मार्गदर्शक हुन् । यहाँहरुकै सुझाव, सल्लाह र प्रतिक्रियाका आधारमा सामाजिक, आर्थिक विकासमा देखिएका भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न, नागरिकमा बढ्दो निराशा कम गर्न हाम्रो प्राथमिकता हुनेछ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको यो पीडादायी समयमा हामीले वार्षिकोत्सव कार्यक्रमलाई औपचारिकता दिन सकेनौं । आगामी दिनमा पाठक, स्रोता, दर्शक, विज्ञापनदाता र शुभेच्छुकबाट विगत वर्षमाभन्दा अझ बढी माया, साथ र सहयोग प्राप्त हुने अपेक्षा लिएका छौं ।

यसबीचमा नागरिकखबरको यो यात्रामा पत्रकार र कर्मचारीको अथक मेहनत छ । नागरिकखबरकर्मीहरुप्रति शुभकामनासहित धन्यवाद छ ।

साथै, पाठक, दर्शक, स्रोता र विज्ञापनदाताबाट प्राप्त अपार माया, साथ र सहयोगबाट हामी अत्यन्त हर्षित र उत्साहित छौं । लोकतन्त्र दिवस र नागरिकखबर डटकमको दोस्रो वार्षिकोत्सवको गौरवपूर्ण अवसरमा पाठक, दर्शक, स्रोता र विज्ञापनदाता तथा आमनेपाली नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । यो यात्रामा साथ दिने सबैमा धन्यवाद र आभार व्यक्त गर्दछौं ।

धन्यवाद

डण्ड गुरुङ
अध्यक्ष

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: