प्रचण्ड र देउवाबीच टेलिफोन संवाद, ओलीको रणनीतिबारे छलफल « Nagarik Khabar

प्रचण्ड र देउवाबीच टेलिफोन संवाद, ओलीको रणनीतिबारे छलफल



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि दुई नेताबीच संवाद भएको हो । सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको बूढानीलकण्ठ स्रोतको भनाई छ ।

सोमबार काँग्रेस पदाधिकारी बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको स्रोतले बतायो ।

ओलीले विश्वासको मत लिनुको कारणबारे उनीहरुबीच छलफल भएको र लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक संकटका विषयमा पनि छलफल केन्द्रित भएको छ ।

प्रचण्डले निर्धक्कका साथ ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने कुरा सँगसँगै आगामी रणनीति तय गर्न देउवालाई प्रचण्डले आग्रह गरेको स्रोतको भनाई छ ।

आजै पार्टी पदाधिकारी तथा संसदीय फाँटका पदाधिकारी र शीर्षस्थ नेतासँग देउवाले छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा आजको पदाधिकारी बैठकमा छलफल हुने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: