सबै पालिकामा शय्या तयार « Nagarik Khabar

सबै पालिकामा शय्या तयार



देउखुरी । लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शय्याको एचडियू अस्पताल सञ्चालनमा आएको छ । देउखुरीका चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार सुरु भएको अस्पतालले जनाएको छ ।

कोरोना अस्पताल निर्माण गरेर उपचार थालिएको छ, अस्पतालका प्रमुख डा पुष्प भुसालले भनिन्, “अक्सिजनसहितको अस्पताल तयार भएको हो । यसले कोरोनाका बिरामीको उपचारमा केही सजिलो हुने छ ।”

अक्सिजन दिएर उपचार गर्नु पर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । पहिलो चरणमा १२ शय्या तयारी अवस्थामा रहेको र छिट्टै शय्या थपेर २५ पुर्याइने उनको भनाइ छ ।

दाङका सबै पालिकाले कोरानाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाएका छन् । देउखुरीमा चार पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ ।

जिल्लाका दुई उपमहानगरपालिकाले पनि आइसोलेसन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन् । तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शय्याको आइसोलेशन सेन्टर तयार पारेको छ भने घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी कोरोना बिरामीका लागि आवश्यक पर्ने शैय्या तयार गर्न सुरु गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: