बढी भाडा असुल्ने तीन जना राजधानीबाट पक्राउ « Nagarik Khabar

बढी भाडा असुल्ने तीन जना राजधानीबाट पक्राउ



काठमाडौं । कोरोना भाइरस संक्रमणको बन्दाबन्दीमा पनि सर्वसाधारणलाई बढी भाडा लिएको भन्दै प्रहरीले काठमाडौंबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यात्रुसँग बढी भाडा लिने तीन जनालाई प्रहरीले बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी निषेधाज्ञामा मौकाको फाइदा उठाउँदै बढी भाडा असुल्ने तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरका कर्मचारी रहेका छन् । काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीनजनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईको भनाई छ ।

पोखरा जाने यात्रुसँग रु।३५०० र बुटवल जाने यात्रुबाट जनही रु ६००० का दरले भाडा लिन क्रममा पक्राउ गरिएको हो । उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरूबाट बढि भाडा असुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा-३३ घर भइ काठमाण्डौं बस्ने बर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई ९ मोरङ्ग घर भई नेपालटार बस्ने बर्ष २९ को नबीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे-७ का बर्ष २९ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले यस्तो विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्न सक्ने यातायात सम्बन्धि समस्या अनुगमनको लागी सादा पोसाकमा बिशेष टोली परिचालन गरेको छ । टोलीले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने र बढी भाडा लिन खोज्नेलाई निगरानीमा राखि नियन्त्रण गर्ने गरेको छ ।

यस्तै प्रहरीले हिजो मात्रै यात्रुसँग बढी भाडा लिने बाग्लुङ भगवती काउण्टरका कर्मचारी मिलन सारुलाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: