महन्थ-उपेन्द्र सहमतिः ओली सरकारमा नजाने, मौका पाए आफै सरकारको नेतृत्व गर्ने « Nagarik Khabar

महन्थ-उपेन्द्र सहमतिः ओली सरकारमा नजाने, मौका पाए आफै सरकारको नेतृत्व गर्ने



  • दिपेश थापा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नजनाउने भएको छ । जसपाले आज एक विज्ञप्ति निकाल्दै आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने बताएको हो ।

राष्ट्रिय सहमतिको सरकार निर्माणमा जसपाले जोड दिएको छ । जसपाका अध्यक्षद्वय अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले आज (मंगलवार) संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्ने सन्देश दिएको हो ।

यस अघि पनि जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले रास्ट्रिय सरकार गठन जोड दिदै आएका थिए । फुट नजिकै रहेको अडकललाई झुठो साबित गर्दै जसपाका दुबै नेता एकै ठाँउमा भएको शन्देश पनि दिन सफल भएका छन् ।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ । जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क-वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: