एमाले सांसदबाट राजीनामा दिएका अमर डागीले भने, ‘धेरैले मलाई माओवादी हो भन्छन्’ « Nagarik Khabar

एमाले सांसदबाट राजीनामा दिएका अमर डागीले भने, ‘धेरैले मलाई माओवादी हो भन्छन्’



नेपालको पछिल्लो राजनीतिक अवस्था जटिल बन्दै गएको छ । अझ कम्युनिष्ट पार्टीहरुको राजनीतिक भविष्य अन्यौलतातिर गइरहेको छ । सांसदहरुले पार्टीको ह्वीप नमान्ने, फ्लोर क्रस गर्ने तथा राजीनामा दिने क्रम बढ्दो छ । जुन संसदीय राजनीतिको एउटा गम्भीर अवस्था आएको विज्ञहरुले बताउँदै आएको छ । लुम्बिनी प्रदेशको पूर्वसांसद अम्बर डागी एमाले पार्टीको टिकटबाट निर्वाचित सांसद हुन् । तर, उनले पार्टी र पार्टी अध्यक्षको विरुद्धमा सांसद पदबाट राजीनामा दिएका छन् । उनै पूर्वसांसद डाँगीसँग नागरिकखबरका सञ्जय श्रेष्ठले कुराकानी गरेका छन् ।

सांसद पदबाट राजीनामा दिनुभयो, केका लागि पद त्याग्नु भएको ?
मुल विरोध त संघीय सरकारका प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष केपी शर्मा ओलीको हो । प्रधानमन्त्री ओलीको काम कारबाही र गतिविधिले मुलुकलाई अँध्यारो खाडलतिर लगेको हुनाले त्यसको विरोध गर्नैपर्ने थियो । मैले राजीनामा नै किन गर्नुपर्ने भयो भने म त दाङबासी । मेलै शंकरलाई यो वा त्यो कोणमा सहयोग गर्नुपर्ने । सहयोग अहिलेसम्म गरिरहेको पनि हो । तर, उनले सहयोगलाई कहिल्यै पनि महत्व दिन सकेन र अर्को केपी ओलीको दुई–तीन वटा खम्बामध्ये यिनी पनि एउटा भएको कारण बडो अप्ठ्यारो मान्दै फ्लोर क्रस गर्नुभन्दा बरु राजीनामा दिनु राम्रो भनेर राजीनामा दिएको हुँ ।

पहिले उनले मैले एउटा संसदीय दलको सभापति बन्न पर्यो भन्दा सुन्दै सुनेन । तर, अहिले पटक–पटक मन्त्री हुन परो भनेको छ । मलाई यो भूतले खाना खाने बेलामा, यो कोरोना महामारीको समय पनि छ । अहिले म ७१ वर्ष भईसकेँ । आरामले घरमा बसौं भनेर राजीनामा दिएको हुँ । खास गरेर यो राजनीति अनिश्चित भयो । विदेशमुखी भएर गयो । मत पुरानो मान्छे, राजनीतिलाई जनसेवा मान्दछौं । तर, अहिले त जनसेवा नभएर व्यक्तिको सेवा गुटको सेवामा लाग्नुपर्ने भएको कारण मलाई मन परेन । त्यसैले मैले राजीनामा दिएको हँु ।

तपाईले सांसद पदबाट राजीनामा दिँदा तपाईलाई भोट हाल्ने जनतालाई त अन्याय भएन र ?

म जनताभन्दा टाढा जाँदिन । राजनीति त म गर्छु । जनप्रतिनिधिको रुपमा त्यति सजिलो छ जस्तो लाग्दैन । मेरो आर्थिक अवस्था पनि त्यति राम्रो छैन । एउटा सानो घडेरी बेचेर सभासद भएको हो । खासै त्यहाँ काम पनि हुँदैन रहेछ । मेरो इच्छा त नगर प्रमुखको थियो । म पहिले पनि नगर प्रमुख भएको हो । नगर प्रमुखमा दिएन । यही पनि गरौं भनेको त्यति उपलब्धीमुलक देखिएन । त्यस कारण राजनीतिक रुपमा त म जनताको बीचमा हुन्छु नै । खास म सशक्त सांगठानिक रुपमा आए भने माधव–खनाल पक्षमा हुन्छु । यो टिमलाई सहयोग गर्दै वाममोर्चा बनाउँदै पुनः नेकपा एमालेलाई संगठित गर्ने कुरामा म लागिरहेको छु । मेरो माओवादीसँग पनि राम्रो सम्बन्ध छ । कांग्रेसले पनि मलाई त्यति टाढाको ठान्दैनन् । अहिलेको जुन गठबन्धन छ । आगामी निर्वाचनसम्म लैजानुपर्छ । गतिशील रुपमा लैजानुपर्छ भन्ने मान्यताको आधारमा मैले यो वा त्यो कोणमा आफ्नो भूमिका निभाइरहेको छु ।

आखिर कामै गर्न नसक्ने अवस्थामा जनतालाई त असन्तोष लागेको होला । तर, मैले जनतासँग माफ मागिसकेको छु । म एउटा सामाजिक कार्यकर्ता पनि हो । सधै यो अवस्था रहिरहन्छ भन्ने पनि छैन ।

नेपालको पछिल्लो राजनितिक घटनाक्रमसँग सांसदहरु बजारमा बिक्री गर्न राखिएको वस्तु जस्तो भएका छन् । सांसदले आफ्नो विवेक प्रयोग गर्न नसकेको हो ?

संविधानको धारा ७६ को १, २, ३, ४ सम्म त फ्लोरक्रस गर्न पाइन्न । तर, उपधारा ५ मा सांसदहरु स्वतन्त्र हुन्छन् । यसमा सांसदले स्वविवेक प्रयोग गर्न सक्छन् । यो व्यक्तिगत तर्क हो । यसमा स्वविवेक हुन्छ । यसमा ह्वीप लाग्ने कुरा हुँदैन । त्यसैले अहिले पार्टीहरुले जे गरिरहेका छन् । त्यो ठिकै गरिरहेका छन् ।

तर, सांसदहरुले आफ्नो विवेक प्रयोग गरेको देखिदैन ?

साँच्चै भन्ने हो भने त केपी ओलीले मैले विश्वासको मत लिन सकिन, उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया अगाडि बढाउन पर्यो भनेर पदबाट राजीनामा नगरिकन आह्वान गरे । त्यही अनुसार राष्ट्रपतिले पनि दलहरुलाई आह्वान गरे । त्यसमा सहभागी नभएको भएपनि राम्रै हुन्थ्यो । किनभने त्यसले अप्ठ्यारो पार्ने अवस्था आउँदैन थियो । त्यसो भएको हुनाले हाम्रो पनि के साेंच छ, भने साथीहरु अहिले संविधानको संरक्षणमा भन्दा पनि केपी ओलीलाई ढाल्नेतिर मात्र बढी केन्द्रीत भएर लागेका छन् । त्यसमा सहभागी नभएको भएपनि केही बिग्रिदैन थियो । हुने यही थियो । सहभागी भएपछि पनि समस्या भयो । यो सहभागिता पनि संविधान विपरित नै छ । संविधानलाई जोगाउने कुरामा सबैले हरतवरबाट सोच्नुपर्ने हो । प्रतिनिधिसभा त पुनःस्थापना हुन्छ ।

सांसदहरु बिकाउको वस्तु जस्तो बन्नुपर्ने कारण के हो ? व्यवस्था कि अवस्था ?

अहिलेको राजनीतिक भनेको ५२–५३ तिर फर्किएको अवस्था छ । सारमा भन्नुपर्दा यो मुलुक दलहरुको कब्जामा छ । दलहरु गुट र उपगुटको कब्जामा छन् । गुट–उपगुट विचौलिया र तस्करहरुको कब्जामा छन् । विचौलिया र तस्कर विदेशीहरुको कब्जामा छन् । त्यसो हुँदा राजनीतिक फोहोरी हुन गइरहेको छ ।

अहिलेको अवस्थाको कारण यो समस्या भएको भन्ने हो ?

सुरुदेखि नै राजनीतिक बिग्रिदै गयो । पार्टी एकीकरण हुँदा पनि व्यापक छलफल र सैद्धान्तिक गोरेटाहरु स्पष्ट रुपमा बनेन् । मैले त धेरै चिने जानेका साथीहरु एमाले–माओवादीतिरका सबैलाई यो एक डेढ वर्ष केपीलाई काम गर्न दिन पर्यो । उनलाई पार्टीले निगरानी गर्दै पार्टी एकीकरणको प्रकृयालाई अगाडि बढाई हालौं । किनभने सरकार ठूलो कुरा हैन । पार्टी ठूलो कुरा हो । पार्टी भयो भने सरकार हुन्छ । केपीले राम्रो काम गरे ठिकै छ । गरेन भने पार्टी संगठन राम्रो भयो भने नयाँ सिराबाट अगाडि बढ्न सकिन्छ, भनेर सुझाव दिएको हो । हामीले पार्टी एकताको प्रकृया सबै टुङ्ग्याइदिएको भएपनि यो सबै अवस्था आउँथ्यो होला । किन भने केपीको इच्छा यस्तै थियो । तर, पनि पार्टी फट्दैन थियो ।

अब हामीले वाम मोर्चा बनाउँदै लोकतान्त्रिक मोर्चा पनि बनाउनु पर्छ । यसरी अगाडि बढ्दा ओलीको एकाधिकारवादी सोच नियन्त्रणमा आउँछ । अलिकति राजनीतिक मूल्य मान्यतालाई स्थापित गर्नुपर्ने हुन्छ । राजनीतिक मूल्य मान्यता स्थापित नभएर पनि अलि छाडा किसिमको नेतृत्व र नेतृत्व खराब भएपछि तलसम्म पनि यही आउँछ । त्यस कारण मुललाई सफा गर्ने र वाम मोर्चा बनाउँदै कम्युनिष्टलाई एकीकृत गर्दै पार्टी बनाउँदै जानुपर्छ । कम्युनिष्टहरु एक भएन भने लोकतन्त्रको रक्षा गर्नु सकिन्छ भन्ने मलाई लाग्दैन ।

तपाईले सांसद पद मात्र त्याग्नुभएको कि एमाले पार्टी पनि छाड्नु भएको हो ?

अहिले मैले सांसद पद त्यागेको हुँ । अर्को कुरा मैले सांसद पद त्याग्नुभन्दा पहिले ओली पक्षमा नै थिएँ । ओली पक्षमा हुनुको मुल कारण भनेको म दाङबासी शंकर पोखरेललाई सहयोग गरौं न त, दाङमा राजधानी ल्याउन त महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यो भूमिकालाई हामीले सम्मान गर्नुपर्छ भनेर म शंकरलाई सहयोग गर्ने लाइनमा नै थिएँ । मैले एमाले छोडेकोचाहिँ हैन । तर, केपी ओली गुटलाई भने छोडेको हो ।

अब एमाले पनि के भन्नुहुन्छ । मैले समाचार सुनेको थिएँ । माधव–खनाल समूहमा पनि अझै त्याँही भित्र रहेर अन्तरसर्घष गर्ने कुरा रहेछ । अर्को तिर पार्टी नयाँ बनाउने भन्ने पनि सुनेको थिएँ । तर, त्यही भित्र बसेर अन्तरसर्घष गरेर माधव–झलनाथलाई काम लाग्दैन । त्यो दिवा सपना मात्र हो । अब जस्तो भएपनि नयाँ पार्टी गठन गरेर माओवादीसँग नयाँ मोर्चा बनाएर अगाडि बढ्नु पर्छ । यो पहिलो र तुरुन्त गर्नुपर्ने काम हो । यसमा अन्य वाम पार्टीहरुलाई पनि जोड्दै जानुु पर्छ । त्यसपछि लोकतान्त्रिक शक्तिहरुसँग पनि मोर्चा बनाएर अगाडि बढ्नुपर्ने हुन्छ । अहिलेको भूराजनीतिक अवस्थालाई जित्न पनि मोर्चा बनाएर अगाडि बढ्नुपर्ने अवाश्यकता

हुन त मलाई धेरैले माओवादी हो भन्छन् । माधव–खनाल पक्षले पनि मलाई सम्पर्क गरेको छैन । मैले राजीनामा दिँदा माओवादीको कुलप्रसाद केसीलाई फाइदा हुन गयो भनेर माओवादी हो भन्छ । तर, मचाहिँ एउटा सशक्त वाम कार्यकर्ता हुँ । माओवादी र माधव–खनाल पक्षको बीचमा छु । त्यस कारण अहिले म एमाले हुँ भन्न पनि झ्याउ लाग्छ । किनभने एमाले त केपी ओलीले कब्जा गर्छ । तर म वाम राजनीतिबाट टाढा छैन ।

माओवादीमा प्रवेश गर्ने तयारी हो ?

माओवादीसँग मेरो अहिले मात्र हैन पहिलेदेखि नै राम्रो छ । म त विकासप्रेमी मान्छे । माओवादीले सहिद मार्ग बनाए । मैले त्यहाँ जिउज्यान लगाएर सहयोग गरेँ । ज्यानको बाजी लगाएर रातारात औजारहरु पठाइदिने गर्थें । मैले त्यो बेला स्वर्गद्वारी मार्ग बनाइरहेको थिएँ । मलाई सजिलो पनि भयो । उनीहरुले मलाई स्वर्गद्वारी मार्ग बनाउने बेला सहयोग गरे, मैले पनि उनीहरुलाई सहिद मार्ग बनाउन सहयोग गरेँ । जनयुद्ध कालमा मैले उनीहरुलाई र मलाई उनीहरुले सहयोग गरेको कारण पनि सम्बन्ध राम्रो छ । मलाई गएको चुनावमा पनि कृष्ण बहादुर महरा प्रतिनिधि सभाको भएको भएर चुनाव लड्न सजिलो भयो । मेरो सजिलो मान्छे नभएको भए मैले एक्लै चुनाव लड्न सक्ने थिइनँ । माओवादीसँग मेरो सम्बन्ध राम्रो छ । माधव नेपालहरुसँग पनि राम्रो छ । तर, उनीहरु झस्किएको किन छ भने यो माओवादी नै भयो भन्ने व्यापक चर्चा छ । म अहिले पनि वाममोर्चा निर्माणको पक्षमा नै छु । अहिले तुरुन्तै माधव–खनालले नयाँ पार्टी गठन गरेर एकीकृत कम्युनिष्ट पार्टी निर्माण गरेर संयुक्त लोकतान्त्रिक मोर्चा बनाउनु पर्छ भन्नेमा छु । यो गरिएन भने अहिलेको भूराजनीतिक मारबाट मुलुकलाई उठाउन सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: