यौनजन्य दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ « Nagarik Khabar

यौनजन्य दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ



कर्णाली । प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत हुन् ।

उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ ।

होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लिल क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान सुरु गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृतमा अनुसन्धान भइरहेको र दोषी युवाहरुमाथि कानूनबमोजिम कारबाही हुने जानकारी दिए ।

पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको छ ।

राउटेहरु नेपालकै एकमात्र फिरन्ते समुदाय हुन् । गुर्भाकोट नगरपालिका ११ जनैघाटमा बस्दै आएका राउटे हाल १ सय ४३ को संख्यामा छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: