फ्रान्सका राष्ट्रपतिलाई गालामा चड्कन (भिडियोसहित) « Nagarik Khabar

फ्रान्सका राष्ट्रपतिलाई गालामा चड्कन (भिडियोसहित)



एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंंलाई देशको दक्षिणपूर्वी क्षेत्रको भ्रमण गरिरहेका बेला गालामा चड्कन हानिएको छ।

सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको क्षेत्रमा भ्रमणको बेला राष्ट्रपति म्याक्रों एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए।

त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हान्छन्।

त्यसलगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन्।

फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ।

घटनापछि बोल्दै म्याक्रोंले यो घटनालाई एक असामान्य घटना भनेका छन्।

‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन। ती यसको लायक छैनन्’ उनले भने।

उनले मुलुकको राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गरेका छन्।

म्याक्रोंका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन्।

अर्को वर्षको चुनावमा म्याक्रोंको सम्भावित प्रतिस्पर्धी लोकप्रियतावादी नेतृ मारिन ल पेनले राष्ट्रपतिविरूद्धको हिंसा अस्वीकार्य रहेको बताइन्।

एकजना कनिष्ठ आन्तरिक मामिला मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन प्रत्येक फ्रान्सेली जनतामाथिको चड्कन भएको बताएका छन्।
म्याक्रोंलाई चड्कन हान्ने पुरुष ‘मोँजुवा सान्ट डेनी’ भनेर चिच्च्याएका थिए। त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ।

चड्कन हानेको घटनापछि राष्ट्रपति म्याक्रों फेरि घटनास्थलमा पुगेर त्यहाँ रहेका मानिसहरूसँग हेलमेल गरिरहेको भिडिओमा देखिन्छ।

हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन।

स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ।

चड्कन हान्ने घटना लगत्तै त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालित भएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: