नेपालमा कोरोना पीडितका लागि तमु समाज यूकेबाट ११ लाख २५ हजार सहयोग (भिडियो) « Nagarik Khabar

नेपालमा कोरोना पीडितका लागि तमु समाज यूकेबाट ११ लाख २५ हजार सहयोग (भिडियो)



काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना महामारी बढेसँगै स्वास्थ्य सामग्रीको संकट बढेको छ । अक्सिजनको अभाव, स्वास्थ्य सामग्रीको समस्या छँदैछ । यी समस्या समाधानका लागि सहयोग पुर्याउने उद्देश्यले तमु समाज युकेले ११ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोगका साथै उपचारमा समेत सघाउ पुर्याउँदै आएका विभिन्न तीन संस्थामार्फत तमु समाज युकेले नेपालमा सहयोग गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख २५ हजार, रवि लामिछाने फाउण्डेसनलाई ३ लाख र राधा पौडेल फाउण्डेसनलाई ३ लाख रुपैयाँ सहयोग गरेको हो ।

तमु समाज युकेका तर्फबाट शान्तिकला गुरुङले रवि लामिछाने फाउण्डेसन र राधा पौडेल फाउण्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

त्यसैगरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन हाल अमेरिकामा रहेकाले सो केन्द्रका किशोर रिमाललाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा रिमालले तमु समाज युकेलाई सहयोगका लागि धन्यवाद दिए ।

केन्द्रले विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए । समाजले उपलव्ध गराएको सहयोग रकम पनि सो अभियानमा लगाउने जानकारी दिए ।

त्यसैगरी, रवि लामिछाने फाउण्डेसनका संस्थापक तथा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले समाजबाट प्राप्त सहयोग सही ठाउँमा सदुपयोग गर्ने बताउँदै समाजलाई धन्यवाद दिए ।

राधा पौडेल फाउण्डेसनका संस्थापक राधा पौडेलले स्वास्थ्य सामग्री अभाव भएको ठाउँमा स्वास्थ्य सामग्री उपलव्ध गराउनका लागि समाजको सहयोग उपयोगी हुने भन्दै धन्यवाद दिए ।

सो रकम तमु समाज युकेले संकलन गरेको हो । संस्थाका उपाध्यक्ष शीव कुमार गुरुङले संकलित रकमको विस्तृत जानकारी दिएका थिए भने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले प्रचार–प्रसार अभियान सञ्चालन गरेका थिए ।

महासचिव हर्क गुरुङले सूचना दिने काम गरेका थिए भने अध्यक्ष शिवचन्द्र गुरुङले संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।

तमु समाज युकेको परिचय

अनेकतामा एकता र विविधताले भरिपूर्ण हाम्रो देश नेपालको साझा फुलबारीमा सदिऔंदेखि फल्न र फुल्न सफल बिभिन्न जातजातिहरुमध्ये एक तमु अर्थात गुरुङ जाती आफ्नै बिशिष्ट कला र संस्कृतीले भरिपूर्ण छ । समय काल र परिस्थितिअनुसार बसाईसराईको क्रममा ठूलो संख्यामा तमुहरु संयुक्त अधिराज्य बेलायतको बसाईसँगै तमु जाति लगायत नेपाली संस्कार र संस्कृतिको संरक्षण, संवद्र्धन र विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुको साथै सामाजिक जीवनको विभिन्न पक्षमा आईपर्ने सुखमा रमाउने र दुखमा साथ दिने मुल अभिप्रायले चित्र बहादुर गुरुङको अध्यक्षतामा ३० सेप्टेम्बर २००७ मा स्थापित यो संस्था १० डिसेम्बर २०१२ तत्कालिन अध्यक्ष शिवशरण गुरुङको कुशल नेतृत्वमा बेलायतको च्यारिटी कमिशनमा बिधिवत रुपमा दर्ता भई भएर बैधानिक परोपकारी संस्थाको मान्यता तमु समाज युकेले प्राप्त गरेको थियो ।

समाजका निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङको कार्यकालमा स्थानीय सरकारबाट कम्युनिटी एसेट ट्रान्सफर योजना अन्तर्गत सामाजिक भवन प्राप्त गर्न सफल भएको छ ।

यसैगरी वर्तमान अध्यक्ष शिव चन्द्र गुरुङको नेतृत्वमा हरप्रकारका परोपकारी तथा सामाजिक कार्यहरु गर्न निरन्तर लागिरहेको छ।

हालसम्म ५३४ भन्दा बढी आजीवन सदस्यहरु रहेको यस संस्थामा स्थापनाकालदेखि हालसम्म बिभिन्न चरणका कार्यसमितिका पदाधिकारिहरु, सल्लाहकारहरु, आमा समूहका पदाधिकारिहरु, युवा समूहका पदाधिकारिहरु र सम्पुर्ण सदस्यहरुले निस्वार्थ भावबाट समाजको सेवागरी विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ र सामाजिक सेवाको कार्यमा तमु समाज युके निरन्तर अघि बढिरहेको छ ।

समाजको महत्वपूर्ण अंगको रुपमा रहेको तमु समाज युके आमा समूहको सक्रियता, संस्कृति जगेर्ना गर्नेदेखि सामाजिक तथा मानवीय सेवामा आमा समूहको संस्थापक अध्यक्ष माया गुरुङदेखि वर्तमान आमा समूह अध्यक्ष बिन्दु घलेको भूमिका उत्कृष्ट रहँदै आएको छ ।

“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” अर्थात जन्म दिने आमा र जन्मभूमी, स्वर्गभन्दा पनि महान हुन्छ । यो भावनालाई तमु समाज युकेले सदा सर्बदा आत्मसाथ गर्दै आएको छ ।

मातृभूमि नेपालमा १३ जुन २०२० शनिबारका राति गण्डकी प्रदेश, पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर ३, दुर्लुङ काउलेमा भारी वर्षाको कारणले ठूलो पहिरो गई तीन परिवारको ९ जनाले ज्यान गुमाएको, दुई घर पूर्णरुपमा क्षति भएको, अन्य केही घरहरु पनि पहिरोको जोखिममा परेको र धेरै धनजनको क्षति भएको खबर तमु समाज युकेले प्राप्त गरे । सो खबरपछि दुखित हुँदै प्राकृतिक बिपतको दुखद परिस्थितिमा समाजका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा दुर्लुङ पहिरो पीडित परिवारको सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान सन्चालन गरिएको थियो । आर्थिक सहयोग अपिल गरेको छोटो अवधिमा समाजको सयौं सदस्यहरु तथा शुभचिन्तकहरुबाट खुल्ला हृदयले सहयोग प्राप्त भएको थियो ।

विगतमा सेती नदीमा आएको बाढीले बस्ती बगाएको बेला होस या भूकम्पले तहसनहस पारेको बेला नै किन नहोस, हरेक खाले प्राकृतिक तथा मानवीय विपत्तिमा तमु समाज युकेले आफ्नो मातृभूमिमा आवश्यकता अनुसारको आफ्नो सेवाको हात फैलाउँदै आएको छ ।

२०७२ सालको बिनासकारी महाभूकम्पको समयमा समाजले लण्डनको सडक–सडकमा आर्थिक संकलन गरेर गोर्खा, कास्की र लमजुङ जिल्लाका भूकम्प पीडितहरुलाई झन्डै १५ लाख रुपैयाँको राहत उपलब्ध गरेको थियो । यसैगरी भूकम्पपछिको पुनर्निमाण अभियान अन्तर्गत धादिङ जिल्लामा १७ लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको थियो ।

सामुदायिक अभियानको नेतृत्व र पहल केही सक्रिय व्यक्तित्वहरुले लिने भए पनि पुरै समुदायको सहयोग र सदभाव बिना केही हुँदैन । यही तथ्यलाई मनन् गर्दै तमु समाज युकेका सबै सदस्यहरु सक्रियतापूर्वक समाजका कार्यक्रमहरुमा सहभागी हुँदै आएका छन् । समाजको विकासमा आमा समूह र युवा समूहको सक्रियता र सहभगिताको महत्वपूर्ण भूमिका रहेको छ । समय र परिस्थितिअनुसार जन्मभूमिभन्दा धेरै टाढा रहेता पनि आफ्नो धर्म, संस्कार, संस्कृति, भाषा तथा आपसी भाईचारालाई सजिव बनाई राख्न तमु समाज युके अहोरात्र खटिरहेको छ ।

बेलायतमा बसोबास गर्ने तमु तथा नेपाली समुदाय बेलायती रहनसहनमा भिज्नुपर्ने बाध्यता छ । त्योभन्दा अझै ठूलो बाध्यता हो, आफ्नो पनलाई प्रवासमा जोगाई राख्नु । यो विषय निकै गम्भीर र कठिन पनि छ । यसको एक मात्र विकल्प भनेकै सामुहिक र सामुदायिक पहल हो । बेलायतमा नेपालीहरुले बेलायती जीवन पद्दतिमा अन्तर घुलन तथा समाहित हुनुको साथसाथै आफ्नो मौलिक नेपाली कला र संस्कृतिलाई सदा जोगाई राख्‍न र भावी पुस्तामा यसको हस्तान्तरण गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी प्रत्येक संघसंस्थाको रहेको छ । यस कार्यमा तमु समाज युके निरन्तर रुपमा लागिरहेको छ ।

वैधानिक परोपकारको क्षेत्रमा कटिवद्ध गैरनाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दुःख र सुखमा साथ दिंदै आएको छ । बिपत्तिका बेला आर्थिक अभावका कारण कठिनाई भोगिरहेका र कष्टकार जीवन बिताइरहेका स्वदेशका थुप्रै ब्यक्तिहरुलाई यस संस्थाले सकेको सहयोग गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमणमा तमु समाज युकेले बेलायतको एन एच एस स्वास्थसेवामा पिपिई खरिदका लागि आर्थिक दान, संस्थाका जेष्ठ नागरिकहरुलाई मास्क तथा स्यानीटाईजर वितरण र लकडाउनको समयमा स्वदेश नेपालमा दुःख परेका र जीवनयापनमा कठिनाई भोगिरहेकाहरुलाई नगद तथा खाध्यान्न वितरण समेत गरी झण्डै चार लाख रुपैयाँ सहयोग गरेको छ ।

तमु समाज युकेको सामाजिक सक्रियता र सदस्यहरुको सदभावले हालसम्म एक करोड रुपैयाभन्दा बढी आर्थिक सहयोग नेपालमा गरिसकेको छ। र, यसले हासिल गरेका उपलव्धीहरु गर्व गर्न लायक छन् ।

बेलायतको राजधानी लण्डनको सडबरी टाउनमा स्थानीय सरकारबाट प्राप्त आफ्नै सामुदायिक भवन रहेको छ । यस समाजले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतीको जगेर्ना गर्न तमुहरुको महान पर्व तमु ल्होछार लगायत नेपाली नयाँ वर्ष तथा अन्य नेपाली चाडपर्वहरुमा तिज, वैशाख पूर्णिमा तथा बुद्ध जयन्ती र तिहारलाई महत्व र भब्यताकासाथ मनाउँदै आएको छ, जसले गर्दा प्रवासमा भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्परा सधै स्नेह र श्रद्दाको आधार तथा प्रेरणाको स्रोत बन्न सकोस भन्ने तमु समाज युकेको चाहना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: