कोरोनाको दोस्रो लहरपछि काभ्रेमा सयको मृत्यु, सात हजार संक्रमित « Nagarik Khabar

कोरोनाको दोस्रो लहरपछि काभ्रेमा सयको मृत्यु, सात हजार संक्रमित



  • राजकुमार पराजुली

काभ्रेपलाञ्चोक । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता करिब दुई महिनाको अवधिमा यहाँ १०० भन्दा बढी संक्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा सात हजारमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।

गत वर्ष कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको थियो । हाल कोरोना संक्रमणको दोस्रो लहरमा हालसम्म १०५ को मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट हालसम्म यहाँका १ सय ५० को मृत्यु भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ५७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

केन्द्रका अनुसार हालसम्म जिल्लाका १० हजार १ सय ५३ मा कोरोना संक्रमण देखिएको छ । यसमध्ये तीन हजार गत सालका संक्रमित हुन् भने करिब सात हजार कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता करिब दुई महिना अवधिका हुन् ।

गत वर्षभन्दा बितेका दुई महिनामा दोब्बर बढी सङ्ख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत संक्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल संक्रमितमध्ये ७९ प्रतिशत अर्थात् आठ हजार दुई संक्रमणमुक्त, भइसकेका छन् ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले जनायो ।

“संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा .नरेन्द्रकुमार झाले भने ।

उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«सिङमा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ ।

हालको अवस्थामा पनि मृत्युदर दैनिक सरदर दुई रहेको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो ।

कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

कोरोना संक्रमणदर बढ्दै गएपछि सो नगरपालिकाले अन्य स्थानीय तहभन्दा सबैभन्दा बढीमा संक्रमण भएपछि जेठ पहिलो सातादेखि नगरपालिका ‘शिल’ गरेको गरेको थियो ।

त्यसलगत्तै जिल्लाका १३ मध्ये आठ स्थानीय तहले आफ्नो क्षेत्र शिल गरेको घोषणा गरे । पछिल्ला केही दिनदेखि संक्रमणदर घट्दै गएपछि जिल्लाभर हाल प्रशासनको निषेधाज्ञा मात्रै लागू भएको छ ।

यसैबीच जिल्लामा केही दिनदेखि संक्रमणदर घटेको र संक्रमणमुक्त हुनेको संख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ९७ मा कोरोना संक्रमण पुष्टि भयो भने १ सय ३२ संक्रमणमुक्त भएका हुन् । अघिल्लो दिन १ सय २ मा कोरोना संक्रमण देखियो भने २०२ संक्रमणमुक्त भएका थिए । यहाँ मृत्युदर रोकिएको छैन ।

हाल जिल्लामा एक हजार ९ सय ४४ सक्रिय संक्रमितमध्ये बनेपामा ३ सय २६, धुलिखेलमा ३ सय १८, पनौतीमा २ सय १७, पाँचखालमा १ सय ७७, नमोबुद्धमा ९२, मण्डनदेउपुर नपामा १ सय ५७ तथा रोशीमा १ सय २७, चौँरीदेउरालीमा ५४, तेमालमा ६९, भुम्लु १ सय ९४, खानीखोलामा ४९, बेथानचोकमा ३० र महाभारत गाउँपालिकामा १३४ सक्रिय संक्रमित रहेको केन्द्रले जनायो । रासस

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: