सुदूरपश्चिम प्रदेश कमिटीले नेपाल पक्षीय १७ सांसद्लाई सोध्यो २४ घन्टे स्पष्टीकरण « Nagarik Khabar

सुदूरपश्चिम प्रदेश कमिटीले नेपाल पक्षीय १७ सांसद्लाई सोध्यो २४ घन्टे स्पष्टीकरण



धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माधव कुमार नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

मंगलबार पार्टीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

पार्टीको निर्देशन उल्लङ्घन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घन्टाभित्र जबाफ पेस गर्न समय दिएर स्पष्टीकरण सोधिएको एमाले प्रदेश सचिव राजेन्द्र रावले जानकारी दिए । रावलले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशनविपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।

उनले संसदीय दलका नेता प्रकाश बहादुर शाहसहित १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै चित्तबुझ्दो जबाफ नदिए पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिने बताए ।

संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशनविपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण के हो ? भनेर सोधिएको छ ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठकले पार्टी निर्देशनविपरीत पक्षमा मत दिने निर्णय गरेको थियो । बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राख्न चाहेपनि बहुमत पक्षले दिएको थिएन ।

एमाले संसदीय दलका नेता शाहले ह्विप उल्लङ्घन गरेको भन्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने ओली समूहका ७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । उनीहरुले बुधबार शाहलाई स्पष्टीकरणको जबाफ बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: