उहिलेकी हुन् ‘नैनकला’ « Nagarik Khabar

उहिलेकी हुन् ‘नैनकला’



काठमाडौं । पारी पुरानो बटौली, वारी खस्यौली । वारीतिर खासै वस्ति बाक्लिएको थिएन । बागलुङ भिमपोखरामा २०१६ सालमा जन्मेकी नैनकला थापा मगर माइली छोरी हुन । बुवा नरबहादुर थापा भारतीय सैनिकमा कार्यरत भएकाले बुवासँगै स–परिवार पल्टनतिरै गए ।

बुवाको पल्टन दार्जलिङ, उडिसा, देहेरादून सरिरह्यो । क्याम्पभित्र बाह्रखरी छिचोल्ने भइन नैनकला । हवल्दार पदमा अवकास आए नरबहादुर । एक वर्ष भिमपोखरामै बसे । ३ बहिनी र एक छोरालाई लिएर २०२४ सालमा नयनकलाका बुवा बुटवल झरे ।

बुटवल राजमार्ग चौराहमा उनी हुर्किइन । त्यहीँको कालिका माविमा अध्ययन सुरु गरिन । दश कक्षा उत्तिर्ण गरेकै साल २०३५÷३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भइन् । नेपालको कम्युनिस्ट आन्दोलनको कुनै बेलाको मूलधार मानिने ‘चौथो महाधिवेशन’को सदस्य बनिन् नयनकला ।

एसएलसी सकिएसँगै उनी अध्ययन गरेकै विद्यालय कालिकामा माविमा शिक्षिका बनिन् । शिक्षिकासँगै शिक्षा संकायको बढाईलाई पनि निरन्तर दिइन । २०३८ नेकपा (चौथो महाधिवेशन)बाट पार्टी सदस्यता लिइन । सोही साल उनी रुपन्देहीको अखिल नेपाल महिला संघकी जिल्ला सचिव भइन् । आन्दोलनकै क्रममा २०४० सालमा उनले रामबहादुर थापा ‘बादल’सँग लगनगाँठो कसिन ।

रुसको अध्ययन छोडेर आन्दोलनमा होमिएका बादलसँगको भेट गराउने मेसो सूर्या थापाले गरिदिएकी थिइन । सूर्या नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहकी माइजु हुन् । अहिले सूर्या र उनका पति गोविन्दसिंह थापालाई सिंहले कार्वाही गरेका छन् । ‘नैनकला र म असाध्यै मिल्थ्यौं । मेरै करबलले रामबहादुरसँग विवाह भएको हो २०४० सालतिर’, सूर्याले भनिन् ।

विवाह पछि नैनकलाले पढाई, राजनीति, पारिवारिक जिम्मेवारी एकैसाथ बहन गर्दै आइन । ‘मास्टर, पढाई, राजनीति दिदीले सँगसँगै अघि बढाउनुभयो’, भाइ ठाकुर थापाले भने । शिक्षणसँगै नैनकलाले शिक्षा र मानविकीमा स्नातक गरिन । विवाहसँगै उनको भूगोल फेरियो । बादलसँग विवाह गरेपछि उनी नारायणी मावि, चितवनमा सरुवा भइन् । त्यहाँ उनी उत्कृष्ठ शिक्षिका समेत घोषित भएकी थिइन ।

नेकपा (मसाल)को विभाजन हुनै लाग्दा २०४२ मा उनी अखिल नेपाल महिला संघ केन्द्रीय महासचिव बनिन् । पछि मसाल मोटो र पातलो भनेर विभाजन भयो । २०४७ मा नयनकला अखिल नेपाल महिला संघ केन्द्रीय संयोजक बनिन् । तात्कालिन एकताकेन्द्र गठनपछि उनी २०५० मा एकीकृत अखिल नेपाल महिला संघ केन्द्रीय महासचिव बनिन् ।

शान्ति प्रक्रियापछि उनी राष्ट्रिय महिला आयोगको अध्यक्षको (२०६४–२०६८) जिम्मेवारी सम्हालिन । त्यससँगै उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्बन्धी विज्ञ समूहको सदस्य रहिन् ।

मृदभाषी, मिलनसार नयनकला
माओवादीले जनयुद्धकालमा स–परिवार भूमिगत हुने कि नहुने भन्ने विषय पार्टीमा निक्कै बहस चल्यो । नयनकला सधैँ त्यही केन्द्रबिन्दूमा पर्थिन बादलसँग भूमिगत किन नहुने ? मृदभाषी, मिलनसार शिक्षाप्रेमी नयनकलाको स्वभाव । पार्टीभित्र आफ्नो पतिको उतारचढावको प्रत्यक्ष साक्षी हुन् ।

माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सबै भन्दा बढि मनोविज्ञान बुझ्न सक्छिन । बादलका कतिपय उतारचढावमा प्रचण्डले नयनकलासँग निरन्तर सम्वाद गर्ने गर्थे । मोहन वैद्यसँग बादल प्रचण्डलाई छोडेपछि पुनः एकतामा आउने भूमिकामा नयनकला थिइन ।

समृद्धिका लागि सञ्चार’लाई अघि बढाइने
भर्खरै विदा भएका निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा उल्लेख्य काम गरेका छन् । गुरुङकै उत्तराधिकारीको रुपमा आएकी नयनकलाको बाहिरी चर्चा छैन । यद्यपि सञ्चार जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्ने सार्मथ्य उनमा छ । ‘‘प्रधानमन्त्रीज्यूको दृढ संकल्पका साथ अघि बढाउनु भएको ‘सम्बृद्ध नेपालः सुखी नेपाली’को नारालाई सार्थक बनाउन सञ्चारको महत्वपूर्ण योगदान हुन्छ । यसअघिका सञ्चारमन्त्रीले अघि सारेका परियोजनालाई निरन्तरता दिनेछु’’, मन्त्री नियुक्तिपछि नयनकलाले संक्षिप्तमा भनिन् ।

‘लो प्रोफाइल’मा बस्न रुचाउने नयनकला र प्रचण्ड पत्नी सीता दाहालको निरन्तर सम्पर्कबाट एकताको वातावरण सिर्जना भएको प्रचण्डका पारिवारिक स्रोतहरुले बताएका थिए । खासै बोल्न नचाहने बादल, उनी श्रीमति नयनकला मार्फत् के गर्न सकिन्छ ? भनेर प्रचण्ड र सीताले निरन्तर प्रयास गरेका थिए । त्यसैको परिणाम वैद्य आफ्नै पार्टीमा रहे, बादलसहितको टिम प्रचण्डसँग एकतामा आयो ।

सरकारले समृद्ध नेपालको अन्तर्राष्ट्रिय पहुँचका लागि ‘एनटिभि वल्र्ड’, आमनागरिकको सरल र सहज पहुँचका लागि डिजिटल नेपाल पे्रmमवर्क, पारदर्शीताका निम्ति स्थानीय तहको केन्द्र, वडासम्म ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार, शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचताका लागि सामुदायिक विद्यालय, क्याम्पसमा ब्रोडव्याण्ड इन्टरनेट सेवा विस्तार कार्यक्रम अघि सारेको छ ।

पछिल्लो आर्थिक वर्षका कार्यक्रमहरुमा सरकारी निकायबाट प्रदान गरिने सेवा नागरिक एप्सबाटै, कोभिड–१९ बाट प्रभावित पत्रकारलाई लेखनवृत्ति, श्रमजीवी पत्रकारको लागि ७ लाख रुपैयाँ दुर्घटना बीमा, निःशुल्क उपचार रहेका छन् । उक्त कार्यक्रमहरुलाई निरन्तरता दिइने मन्त्री थापाले बाएकी छन् ।

नेपाली प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न ‘प्रेस संग्रहालय’, दुई वर्षभित्र अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण, सरकारबाट प्रदान गरिने विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच, सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गरिने लगायत महत्वपूर्ण योजनाहरुमा सरकारले बजेट विनियोजन समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: