केन्द्रीय समितिमा बहुमत जुटाउन ठाकुर पक्षले सकेन, नयाँ पार्टी दर्ता गराउने तयारी « Nagarik Khabar

केन्द्रीय समितिमा बहुमत जुटाउन ठाकुर पक्षले सकेन, नयाँ पार्टी दर्ता गराउने तयारी



काठमाडौं । जनता समाजवादी जसपाका महन्थ ठाकुर पक्षले केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न सकेका छैनन् ।

यसकारण ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराउने मनस्थितिमा पुगेको एक नेताले बताए । निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा सकिएको छ ।

जसपाका एकजना कार्यकारिणी सदस्यका अनुसार ठाकुर पक्षले बहुमत सदस्यको नामावली पुर्याउन नसकेपछि नयाँ पार्टी बनाउने तयारीमा पुगेको हो ।

स्रोतका अनुसार निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ ।

कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारीका साथ अगाडि बढेको ती नेताको भनाई छ ।

स्रोतका अनुसार नयाँ पार्टीका लागि विधान र अन्य दस्तावेज बनाउने जिम्मेवारी डा. सुरेन्द्रकुमार झा र केशव झालाई दिइएको छ । दुबैले नयाँ पार्टीको विधानको मस्यौदा तयार गरेर दिइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: