भारतमा दैनिक संक्रमितको संख्या दिनप्रति दिन घट्दो « Nagarik Khabar

भारतमा दैनिक संक्रमितको संख्या दिनप्रति दिन घट्दो



नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरुको संख्यामा कमी हुँदै आएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २ सय २४ जना कोरोनाभाइरसबाट थप संक्रमित भएका छन् ।

यो संख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले सङ्क्रमण घटेको जनाएको छ ।

पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले संक्रमितहरुको संख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी सक्रिय अवस्थामा रहेका संक्रमितहरुको सङ्ख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार ४ सय ३२ रहेको छ ।
सक्रिय संक्रमितहरुको सङ्ख्या घटेर ७० दिनपछि अहिले पहिलो पटक नौ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोनभाइरसबाट संक्रमणमुक्त भएकाहरुको दर ९५.८० रहेको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९६ लाख ३३ हजार १ सय ५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म कुल तीन लाख ७९ हजार ५ सय ७३ जनाको मृत्यु भएको देखिएको छ । ती मध्ये दुई हजार ५ सय ४२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार ६ सय २८ जना संक्रमणमुक्त भएको पाइएको छ । योसँगै संक्रमणमुक्त भएकाहरुको कुल संख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार ७ सय ९१ पटक कोरोना परीक्षण गरिएको छ । त्यस्तै २६ करोड १९ लाखलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: