आज जनकपुर–जयनगर रेलको ट्रयाकको गति परीक्षण गरिने « Nagarik Khabar

आज जनकपुर–जयनगर रेलको ट्रयाकको गति परीक्षण गरिने



धनुषा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्रयाकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेसन’ गर्ने काम हुने छ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पिड’ परीक्षण गरिने जानकारी दिए । उनले भने, “ट्रयाक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो । स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघन्टा हुने भएकाले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।”

महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरेका छन् । उनले परीक्षणका क्रममा ट्रयाक तथा स्टेसनहरुमा पर्याप्त प्रहरी तथा कर्मचारी खटाइने बताए ।

उनले भने, “परीक्षणका क्रममा रेल जयनगरबाट जनकपुर आउँदाजाँदा रेल्वे ट्रयाकमा कुनै समस्या नआएको अवस्थामा उक्त भारतीय रेल्वे कम्पनीले जनकपुर–जयनगर रेल्वे ट्रयाक रेल सेवा सञ्चालनका लागि उपयुक्त र सुरक्षित रहेको भन्दै नेपाल रेल्वे कम्पनी लिमिटेडलाई प्रमाणपत्र हस्तान्तरण गर्नेछ ।”

परीक्षणका विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कानुनअनुसार कारवाहीसमेत गरिने महाप्रबन्धक भट्टराईले चेतावनीसमेत दिए । उनले जयनगर–जनकपुर–कुर्था खण्डका नागरिकलाई जिम्मेवार भइदिन अनुरोध गरे । उनले जनकपुरबाट भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

सरकारले जिटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेसनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: