सांसद श्रेष्ठले भने, ‘तनहुँबासीको ‘म्याण्डेट’, लोकतन्त्रको रक्षा र सर्वोच्चको फैसलाको सम्मानका लागि देउवालाई मत दिएँ’ « Nagarik Khabar

सांसद श्रेष्ठले भने, ‘तनहुँबासीको ‘म्याण्डेट’, लोकतन्त्रको रक्षा र सर्वोच्चको फैसलाको सम्मानका लागि देउवालाई मत दिएँ’



काठमाडौं । नेकपा एमाले सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ले लोकतन्त्र र संविधानको रक्षाका साथै सर्वोच्च अदालतको आदेशको सम्मानका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताएका छन् ।

पटक–पटक प्रतिनिधिसभा विघटन गरिनुले जनभावनामा समेत गम्भीर ठेस पुगेको बताउँदै श्रेष्ठले सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मत दिएर प्रतिनिधिसभाको गरिमाको रक्षा गरिएको बताए ।

‘सर्वोच्च अदालतको आदेशले लोकतन्त्रको रक्षाका साथै संविधानको संरक्षण गरेको छ’ उनले भने, ‘सर्वोच्चको आदेशको सम्मानका लागि पनि देउवालाई विश्वासको मत दिएको हुँ ।’

आफूलाई तनहुँबासीले ५ वर्षका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेर पठाएको बताउँदै सांसद श्रेष्ठले बारम्बार प्रतिनिधिसभा विघटन हुँदा जनमतको समेत अनादर हुन पुगेको महशुस गरेको बताए ।

उनले भने, ‘तनहुँबासीले मलाई ५ वर्षका लागि निर्वाचित गरेको हो । जनभावनाको सम्मानका लागि पनि प्रतिनिधिसभाको पूर्ण आयुको पक्षमा उभिनै पर्र्ने थियो । त्यसैले पनि मैले देउवालाई विश्वासको मत दिएको हुँ ।’

यसअघि सांसद श्रेष्ठ एमाले संस्थापन पक्षमा थिए । उनले संस्थापनको हितका लागि भरमग्दूर प्रयत्न समेत गर्दै आएका थिए ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै संविधानको धारा ७६(५) अनुसार मत दिन सबै सांसद स्वतन्त्र रहने र पार्टीले ह्वीप जारी गरेर कारवाही गर्न नसक्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: