दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै « Nagarik Khabar

दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै



काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसद्ले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन् । सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए ।

एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० जनाले मतदान बहिस्कार नै गरेका थिए। एमालेमा सांसदले असहयोग गरेका कारण पार्टीभित्रको संकटबाट उम्किन एमाले अध्यक्ष केपी ओलीलाई निकै चुनौती थपिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‌मा लिएको विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मात्रै मत खस्यो । यसले १२१ सिट संख्या भएको एमाले पार्टीको धरातल कमजोर हुन पुग्दा पार्टी नै धरापमा परेको छ।

अदालतले अपदस्थ गरेका प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रको विवाद मिलाउन नसक्दा कै समस्याले यो अवस्थाको सिर्जना भएको विष्लेषण छ । ३३ जनाले ह्विप उल्लंघन गरिरहँदा ३१ जना माधव नेपाल पक्षकै हुन् । एमाले पार्टीले तटस्थसमेत नबस्न ह्विप जारी गरेको थियो। रावलले राजीनामा र १० जना नेपाल समूहका सांसद्ले मतदान बहिस्कार गरेपछि देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका २२ जनामध्ये १४ र ओली समूहका ८ जना देखिए पनि अन्तत दुई जना मात्रै ओली समूहका हुन्। यद्यपि उनीहरूमध्ये ६ जना केही महिना अघि मात्र माधव नेपाल समूहबाट ओली समूहमा गएका थिए।

पहिला माधव नेपाल पक्षमा रहेका तर प्रधानमन्त्री केपी ओलीलाई वैशाख २७ गते विश्वासको मतको पक्षमा मतदान गरेका सांसद हीरा केसी, पार्वती विसुंखे, समिना हुसेन, गोपाल बम, प्रेम आले, विनादेवी बुढाथोकीले सोमबार देउवालाई विश्वासको मत दिएका हुन् । एमाले माधव नेपाल समूहमा रहेका प्रेम आले ओली समूहमा लागेपछि उनलाई वनमन्त्री बनाइएको थियो । तर, ओली सरकार हटेपछि उनी फेरि नेपाल समूहमा आएका छन् ।  नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: