मोटरसाइकल चोरी भएको ६ घन्टामै फेला, चोरीमा संलग्न एकजना पक्राउ « Nagarik Khabar

मोटरसाइकल चोरी भएको ६ घन्टामै फेला, चोरीमा संलग्न एकजना पक्राउ



काठमाडौं । पेशेवर रूपमै मोटरसाइकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा९५प२३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई बिना साँचो डाइरेक्ट स्टार्ट गरी चलाइरहेको अवस्थामा कमलामाई नगरपालिका–७, दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

उक्त मोटरसाइकल गत आइतबार बिहान साढे ८ बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका–३, दोलखा घर भएका कृष्ण कार्कीले यस महाशाखामा जानकारी गराएका थिए । चोरी भएको सूचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आइतबार दिउँसो ३ बजे नै उक्त मोटरसाइकलसहित १ जनालाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए ।

नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुछपश्चात बा८३प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाइकल समेत कौशलटारबाट बरामद गरेको छ । उक्त मोटरसाइकल १० जेठमा बालकुमारी, ललितपुरबाट हराएको भनी गोदावारी नगरपालिका–६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन महाशाखामा दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलसहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: