एआइजीको सरुवा रोकियो, हरि पाललाई मेट्रोकै जिम्मेवारी दिइने « Nagarik Khabar

एआइजीको सरुवा रोकियो, हरि पाललाई मेट्रोकै जिम्मेवारी दिइने



काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा प्रक्रिया रोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको दवाव र प्रहरी महानिरीक्षक (आइजिपी)ले आवश्यक पहल लिन नसक्दा सरुवा रोकिएको हो ।

केपी ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकले प्रहरीका एआइजीहरुको सरुवा गरेको थियो । जसमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरि बहादुर पाललाई ७ महिनामै हटाएर प्रद्युम्न कार्कीलाई पठाएको थियो । पाललाई हटाएर प्रहरीको राष्ट्रिय पशिक्षण प्रतिष्ठानमा रहेका कार्कीलाई मेट्रोमा पठाइएको थियो । गृह स्रोतका अनुसार पाललाई रानीपोखरीमै राख्ने तयारी छ ।

प्रशासन विभागका निरज बहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको थियो भने अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको थियो । यस्तै, सहकुल थापालाई मानवस्रोतमा पदस्थापन गरिएको थियो ।

गृहमन्त्री खाँणले अघिल्लो सरकारले गरेको एआइजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका कारण सरुवा रोकिएको बताइन्छ । तर, प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी बसन्त कुँवर भने गृहबाट कुनै निर्देशन नआएको बताउँछन् । स्रोतका अनुसार पालको कार्यकाल पूरा नभएकाले उनलाई रानीपोखरीमो राखेर अरुको कार्यक्षेत्र हेरफेर हुन सक्ने सम्भावना छ ।

गृहकै निर्देशनमा आइजिपी शैलेश थापा क्षेत्रीले सबै एआइजीहरुलाई रमाना नलिन मौखिक निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: