एमाले केन्द्रीय कमिटी बैठक आज पनि, ओलीले भने- ‘घिउ लागिहाल्छ कि भनेर मोही मथेको मथ्यै छु’ « Nagarik Khabar

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, ओलीले भने- ‘घिउ लागिहाल्छ कि भनेर मोही मथेको मथ्यै छु’



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ ।

पार्टीमा देखिएको अन्तरविरोधका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल जारी छ ।

बुधबारको बैठकले ४ विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो ।

सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा सुभचिन्तकलाई आग्रह गरेको छ ।

त्यस्तै आफूहरू फेरि पुरानै ठाउँमा ‘कम्ब्याक’ हुने बैठकले निष्कर्ष निकालेको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।

बुधबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पार्टीलाई दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका हुन् ।

लामै समय लिएर बोलेका अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

एमाले अध्यक्ष ओलीले आफू कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, एकताका लागि हदैसम्म लचिलो बन्न तयार रहेको र माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउनसमेत तयार रहेको बैठकमा बताए ।

उनले भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ । १० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’

पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बैठकमा बताए । उनले भने, ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु ।’

तर, आफूले यति भन्दा पनि माधव नेपालले पार्टी एकताप्रति इच्छा नदेखाएको बताउँदै ओलीले बैठकमा भने, ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन् ।’

संसदमा आफ्नै पार्टीको सरकारका विरुद्धमा मत हालिएको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो । तर, पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । म थाकेको छैन कमरेडहरु । एकताका लागि कुनै कन्जुस्याइँ गरिएको छैन, गरिने छैन ।’

एमालेको जारी केन्द्रीय कमिटी बैठक आज दिउँसो पुनः बस्ने गरी टुङ्गिएको छ । बुधबारको बैठकमा २० भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: