बहुमत जोगाउन उपेन्द्र पक्षको भेला रिसोर्टमा « Nagarik Khabar

बहुमत जोगाउन उपेन्द्र पक्षको भेला रिसोर्टमा



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विवाद अब फुटको संघारमा छ । उपेन्द्र यादव र महन्थ ठाकुर दुबै पक्षले आफ्नो पक्षमा बहुमत पुर्याउन नेताहरु तान्ने कसरतमा लागेका छन् ।

निर्वाचन आयोगले भोलि कार्यकारिणी समितिमा रहेका सदस्यहरुको संख्याको ‘हेड काउण्ट’ गर्ने भएपछि उक्त दलका दुबै खेमा आ–आफ्ना पक्षमा नेताहरु तान्ने दौडमा लागेका हुन् । सोही क्रममा अध्यक्ष यादवले आज दिउँसोदेखि आफू निकट सदस्यहरुको भेला ललितपुरको गोदावरी रिसोर्टमा गरेको छ ।

केन्द्रीय समिति र संसदीय दल दुबैतिर बहुमतमा रहेको यादव पक्षले आफूसँग भएको बहुमत जोगाउनु पर्ने भएको छ । निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेको ठाकुर समूह सर्वोच्चले अन्तरीम आदेश नदिँदा समस्यामा परेको छ ।

केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणका कारण पार्टीमा शुरु भएको विवादका कारण ठाकुरले आफ्ना सांसदहरुलाई यसैगरि भक्तपुरको एउटा रिसोर्टमा लगेर राखेका थिए । त्यसको चाँजोपाँजो एमाले नेता महेश बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: