आज निर्वाचन आयोगमा निष्ठाको सनाखत भइरहेको छ : शरदसिंह भण्डारी « Nagarik Khabar

आज निर्वाचन आयोगमा निष्ठाको सनाखत भइरहेको छ : शरदसिंह भण्डारी



काठमाडौं । जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले जालझेल गरेर उपेन्द्र यादवले आफ्नो बहुमत निर्वाचन आयोगमा देखाए पनि त्यसबाट आफूहरु विचलित नभएको बताएका छन् ।

निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भण्डारीले निष्ठा र अवसरबादमध्ये केही व्यक्तिले अदल–बदल गरेर अवसरवादी चरित्र देखाएको टिप्पणी गरे । उनले अब के गर्ने भन्नेबारे आयोगको निर्णय र अदालतको फैसलापछि हुने बताए ।

“पार्टीभित्र दुइटा विचार आयो । यसलाई हामीले निष्ठाको सनाखतका रुपमा लिएका छौँ । हिजोसम्म एउटा पक्षमा हुने, रातारात अर्को कित्तामा पुग्ने काम भएकाले यसलाई निष्ठाको सनाखतका रुपमा लिएका छौँ,” भण्डारीले भने ।

उनले विगतका काममा आफूहरुलाई कुनै ग्लानी नभएको बताएका छन् । उनले भने,“हामीलाई विगतका काममा कुनै आत्मग्लानी छैन । राज्यसँग आफ्ना माग मुद्दाका आधारमा हिजो सरकारलाई समर्थन गरेका हौँ, भोलि पनि देउवालाई मागका आधारमा नै समर्थन गर्ने हो । नयाँ पार्टी बनाउनेबारे निर्वाचन आयोगको निर्णय आएपछि अगाडि बढ्छौँ ।”

भण्डारीले एक वर्षअघि तत्कालीन राजपा र समाजवादी पार्टी एकीकरण गरेर आफूहरुले उपेन्द्र यादवको राजनीति जोगाइदिएकोमा अहिले बदलाभाव देखाएको आरोप लगाए । त्यसबेला उपेन्द्र यादवको ९ जना सांसद्ले अलग दल खोल्न सरकारमार्फत अध्यादेशसमेत ल्याइएको थियो ।

भण्डारीले भने,“हामीले अहिले विभाजन मागेको होइन । सबैलाई थाहा छ जसपा एकीकराणको बेला उपेन्द्र यादवको अनुहार र अवस्था कस्तो थियो जगजाहेर छ । साँच्चै भन्ने हो भने हामीले उपेन्द्रजीलाई रेस्क्यु गरेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: