सिन्धुलीगढी घुम्न आउनेको संख्या ह्वात्तै बढ्यो, पहिलो दिनमै उठ्यो प्रवेश शुल्क १५ हजार « Nagarik Khabar

सिन्धुलीगढी घुम्न आउनेको संख्या ह्वात्तै बढ्यो, पहिलो दिनमै उठ्यो प्रवेश शुल्क १५ हजार



सिन्धुली । सिन्धुलीगढीमा युद्ध संग्रहालय र वीर योद्धाहरुको मूर्ति बनेपछि सिन्धुलीगढी घुम्न आउनेको संख्या पहिलो दिन नै उत्साहजनक रहेको पाइएको छ ।

नेपाली सेनाले युद्ध संग्रहालय बनाएर कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेपछि शनिबारबाट सर्वसाधारणका लागि खुला गरिएको हो ।

सर्वसाधारणका लागि खुला गरिएको पहिलो दिनमै सिन्धुलीगढी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको संख्याले उत्साहित बनाएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बताए ।

सिन्धुलीगढी घुम्नका लागि प्रवेश शुल्क राखिएको छ । पहिलो दिनमै बिहान १० बजेदेखि ३ बजेसम्म १५ हजार ८५० रुपैयाँ प्रवेश शुल्क उठेको नगर प्रमुख खत्रीले जानकारी दिए ।

वर्षाको समयमा पनि आन्तरिक पर्यटकहरु सिन्धुलीगढी घुम्न आउने संख्या बढी देखिएका छन् । सिन्धुली गढीमा यसअघि आएका र युद्ध संग्रहालय बनेको खबर सुनेपछि सिन्धुली बाहिरका जिल्लाबाट समेत आएको नगरप्रमुख खत्रीले जानकारी दिए ।

सिन्धुलीगढी युद्ध संग्रहालय नेपाली सेनाले बनाइदिएको हो । सिन्धुलीगढीमा विश्वमा पहिलोपटक अंग्रेज फौजले हराएको इतिहास छ । गढीमा बनेको युद्ध संग्रहालय नै नेपालको पहिलो युद्ध सग्रहालय हो ।

त्यस्तै, सिन्धुलीगढी युद्धमा वीरताका साथ योगदान गर्ने वंशु गुरुङ, श्रीहर्ष पन्त, वीरभद्र उपाध्याय र वंशराज पाण्डेलेको आकर्षक प्रतिमा बनाइएको छ । यो नगरपालिकाले बनाएको हो ।

नगर प्रमुख खत्रीले मलेसिया भ्रमणमा देखेका कलात्मक युद्ध संग्रहालयमा रहेको मूर्तिकै झझल्को दिने गरी कलात्मक रुपमा अंग्रेज फौजमाथि गोर्खाली फौजले धावा बोलेको मूर्ति सिन्धुलीगढीमा देख्न सकिने छ ।

अबको केही महिनामै विश्वमा सिन्धुली गढीलाई चिनाउने सिन्धुलीकै श्रष्टा कृष्णविक्रम थापाको मूर्ति पनि नगरपालिकाले बनाउँदैछ । सिन्धुलीगढीका लागि यो अर्को आकर्षक र ऐतिहासिक काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: