अफगानिस्तानमा तालिबान र सेनाबीच भिडन्त जारी, प्रमुख तीन शहर कब्जामा लिने तालिबानको प्रयास « Nagarik Khabar

अफगानिस्तानमा तालिबान र सेनाबीच भिडन्त जारी, प्रमुख तीन शहर कब्जामा लिने तालिबानको प्रयास



एजेन्सी । अफगानिस्तानका प्रमुख तीन शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबीचको भिडन्त चर्किएको छ । दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरमा भिडन्त चर्किएको हो ।

ती शहरहरुलाई सरकारी सेनाबाट खोसेर आफ्नो नियन्त्रणमा लिने प्रयासमा तालिबान लडाकु रहेका छन् । हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकुहरु सरकारी सेनासँग भिडिरहेका छन् ।

अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँग तालिबानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र बनाउँदै आएको छ ।

तर प्रमुख शहरहरुमा भने अझै पनि सरकारी सेनाको नियन्त्रण छ । यी शहरहरु नियन्त्रणका लागि तालिबानका तर्फबाट हुने प्रयास रोक्नका लागि सरकारी सुरक्षाबलले गर्ने प्रतिकारका कारण गम्भीर मानवीय संकट आउन सक्ने भन्दै चासो र चिन्ता व्यक्त भएको छ ।

सरकारी सेनाले तालिबान लडाकुलाई कति लामो समयसम्म रोक्न सक्छन भन्ने पनि चासोको विषय बनेको छ । तालिबानले अफगानिस्तानको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । इरान र पाकिस्तानसँगका प्रमुख सीमा क्षेत्रसहित ग्रामीण क्षेत्र तालिबानको कब्जामा छ ।

लश्कर गाहमा तालिबान बिद्रोहीहरु शनिबार गभर्नरको कार्यालयबाट केही सय मिटर पर मात्रै थिए । तर रातको समयमा उनीहरुलाई पछि हटाउन सरकारी सेना सफल भएको छ ।

पछिल्ला केही दिनहरुमा तालिबानले दोस्रोपटक शहरहरु नियन्त्रणमा लिने प्रयास गरेको हो । अफगान सेनाका कमाण्डरले तालिबानको पक्षमा आफूहरुले शुक्रबार ठूलो क्षति गर्न सफल भएको दाबी गरेका थिए ।

अमेरिकाले आफ्ना सैनिक अगस्टको अन्त्यसम्ममा पूर्ण रुपमा फिर्ता गर्ने बताएको छ । जसअनुसार काम पनि भइरहेको छ । त्यस्तै नेटो अन्तर्गतका विदेशी सैनिकहरु पनि सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने छन् ।

तालिबानले नियन्त्रण बढाउँदै लगेको तथा भिडन्त बढ्दै जाँदा अफगानिस्तानको अवस्था थप अस्थिर हुने भन्दै चासो र चिन्ता व्यक्त हुँदै आएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: