प्रधानमन्त्री देउवाले नारायणकाजीलाई उपप्रधानमन्त्री अस्वीकार गरेपछि … « Nagarik Khabar

प्रधानमन्त्री देउवाले नारायणकाजीलाई उपप्रधानमन्त्री अस्वीकार गरेपछि …



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरु अहिले कसको नेतृत्वमा कसकसलाई मन्त्री पठाउने भन्ने आन्तरिक गृहकार्यमा छ ।

सत्तारुढ दलमध्ये मुख्य दल नेकपा माओवादी केन्द्रमा अहिले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने निकै ठूलो दाउपेच छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने विषयमा केही नेताहरु लविङमा थिए । श्रेष्ठले पनि आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने इच्छा देखाएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्दा उपप्रधानमन्त्रीसहित जिम्मेवारी दिनुपर्ने अडानमा श्रेष्ठ थिए ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी गराउने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवाले नेता श्रेष्ठलाई उपप्रधानमन्त्री दिन नसकिने जनाउ दिएको स्रोतको भनाइ छ । यो जानकारीपछि माओवादीमै हल्लीखल्ली मच्चिएको छ । एकाथरी नेताहरु देउवाले माओवादीभित्र खेल्न खोजेको आशंका गर्न थालेका छन् भने एकाथरी नेताहरुले भने आफ्नो पार्टीका विषयमा देउवाले भनेर नहुने बताउन थालेका छन् ।

देउवाले आफूलाई अस्वीकार गरेको थाहा पाएपछि नारायणकाजी केही दिनदेखि असन्तुष्ट देखिएका थिए ।

असन्तुष्ट देखिएका नारायणकाजीलाई फकाउन पनि आज प्रचण्डले शीर्ष नेताहरुसहितको बैठक हरिसिद्धिस्थित नारायणकाजी श्रेष्ठकै निवासमा राखे ।

पार्टी कार्यालय पेरिसडाँडामा राखिएको स्थायी समिति बैठकमा समेत अनुपस्थित हुने स्थिति देखिएपछि प्रचण्डले नेता श्रेष्ठको निवासमा बैठक राखेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणी पोखरेल लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: