सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादव ‘रिसाएर’ गएनन्, भागबण्डा टुंगो लागेन « Nagarik Khabar

सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादव ‘रिसाएर’ गएनन्, भागबण्डा टुंगो लागेन



काठमाडौँ । सत्तारुढ दलबीचको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि सत्ताको भागबण्डा थप अन्यौलमा परेको छ ।

शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार अपरान्ह सत्ता गठबन्धन दलको बैठक राखेका थिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखिएको बैठकमा जसपा अध्यक्ष यादव अनुपस्थित रहे ।

अध्यक्ष यादव बैठकमा अनुपस्थित रहेपछि शीर्ष नेताहरुले अन्य विषयमा छलफल गरेर विनानिष्कर्ष फर्किएका थिए ।

नेताहरुबीच मन्त्रालय भागवण्डा, संसद् बैठक सञ्चालन, अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गरेका थिए । यादवको अनुपस्थितिका कारण कुनै निष्कर्षमा पुग्न सकेन ।

मन्त्रालयको भागवण्डाबारे केही दिनअघि भएको बैठकमा माधव नेपालले मालदार मन्त्रालयहरुमा दावी गरेपछि उपेन्द्र यादव रिसाएका थिए । यादवले मालदार मन्त्रालय एउटै पार्टीलाई दिन नसकिने भन्दै प्रतिवाद गरेका थिए । त्यसपछि यादव बैठकहरुमा सहभागी छैनन् ।

सामान्यतः सत्तारुढ गठबन्धनको बैठकमा यादवलाई नबोलाई माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपालसहित प्रधानमन्त्री देउवा बैठक गर्ने गरेका छन् । त्यसप्रति पनि यादवले गुनासो गरेको स्रोतको भनाइ छ ।

यादव रिसाएपछि विहीबार बिहान माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई लिएर प्रचण्ड हात्तीवनस्थित यादव बस्दै आएको अपार्टमेन्टमा पुगेका थिए । लामो समय छलफल गरेपनि यादव कतिपय विषयमा सहमत नभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: