किन एक्लो महसुस गर्दैछन् प्रचण्ड ? (भिडियो) « Nagarik Khabar

किन एक्लो महसुस गर्दैछन् प्रचण्ड ? (भिडियो)



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहिलेकाहिँ बढी नै भावुक हुन्छन् । मनमा लागेको कुरा चपाएर बोल्दैनन् । फ्याट्टै भनिहाल्छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि उनले त्यस्तै भावुक कुरा गरे । नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाका सन्दर्भमा बोल्दै प्रचण्डले केही वर्षपछि आफू पनि एक्लै हुने पो हो कि भन्दै चिन्ता व्यक्त गरे ।

माओत्सेतुङको अन्तिम घडीको स्थिति चित्रण गर्दै उनले माओले पनि जीवनको अन्तिम घडीमा आफूलाई एक्लो रहेको बताएको स्मरण गरे ।

माओ विचारधाराको विश्वमा चर्चा र बहस भइरहेका बेला माओले पार्टीभित्र भने एक्लो भएको अनुभूत गर्नुपरेको समेत प्रचण्डले स्मरण गराए ।

मृत्युको अन्तिम क्षणमा माओले ‘माओले एक्लो छु भन्नुभयो’ भन्दै माओले श्रीमतीको पनि विश्वास नरहेको बताएको प्रचण्डको भनाइ थियो ।

माओको विचारसँगै आफूलाई पनि सोही रुपमा पाउन थालेको हो कि भन्ने उनको भनाइ छ । उनले भने, ‘सायद एक–दुई वर्षपछि म एक्लो पो हुने हो कि ? र, माओले जस्तै म एक्लो छु भन्नुपर्ने हो कि ?’

कहिले काहिँ आफू एक्लो पो छु कि भन्ने चित्र दिमागमा आउने गरेको भन्दै उनले सबै कम्युनिष्टहरुले चिन्तन–मनन गर्नुपर्ने बताए ।

सारा सर्वहारा वर्गका लागि लडेको कम्युनिष्ट नेताले एक्लो महसुस गर्नुलाई चिन्तन गर्नुपर्ने भन्दै प्रचण्डले प्रश्न गरे, ‘यो रोग के हो कम्युनिष्ट आन्दोलनभित्र ?’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: