‘गुमनाम’ जीवन बिताइरहेकी विष्णु माझिलाई खोज्दै उनको माइतीघर पुग्यो प्रहरी « Nagarik Khabar

‘गुमनाम’ जीवन बिताइरहेकी विष्णु माझिलाई खोज्दै उनको माइतीघर पुग्यो प्रहरी



काठमाडौं । चर्चित लोकगायिका विष्णु माझीबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । हजारौं गीत गाएर पनि ‘गुमनाम’ जीवन बिताइरहेकी भनिएकी माझीको पछिल्लो गीत ‘चरी जेलैमा’ चर्चित भएपछि उनको अवस्थाबारे खोजी र बहस हुन थालेको हो ।

यसबीच आयोगले उनको अवस्थाबारे बुझ्न चासो देखाएको आयोगका प्रवक्ता टीकाराम पोखरेलको भनाई छ । आइतबार आयोगले विष्णु माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई पत्राचार गरी उनको अवस्था बुझ्न भनेको थियो ।

सामाजिक सञ्जालमा विष्णु माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको आयोगका प्रवक्ता पोखरेलको भनाई छ ।

स्याङजा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीका अनुसार आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए । तर, घरमा कोही पनि नभेटिएको बताए ।

पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन नमिल्ने आयोगका प्रवक्ता पोखरेलले बताए । ‘स्वयम् व्यक्तिले म पीडित छु भनेर उजुरी दिएमा हामी अनुसन्धान अघि बढाउन सक्छौं’, उनले भने ।

हालै सार्वजनिक भएको तीज विशेष भन्दै माझीले गाएको ‘चरी जेलैमा’ गीतले पछिल्लो समय चर्चामा छ । यससँगै उनको नीजी जीवन पनि सार्वजनिक हुनुपर्ने बहस सृजना भएको हो । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् । माझीले गाएको उक्त गीतलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले लेखनसँगै संगीत संयोजन गरेका हुन् ।

विष्णुबारे यसअघि पनि यस्तै चासो भएपछि स्याङजा प्रहरीले उनीहरूलाई बोलाएर सोधखोज गरेको थियो । जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले ‘गुमनाम’ जीवन बिताइरहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: