फुटबल लिगको लागि कबर्डहल तयार « Nagarik Khabar

फुटबल लिगको लागि कबर्डहल तयार



काठमाडौँ । तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको कार्यकालमा पोखराको बहुउद्देशीय कभर्डहल शिलान्यास भएको थियो । तर, यो कभर्डहल बनाउन निकै समय लाग्यो । यो कभर्डहलले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा मात्रै पूर्णता पायो । सागमा ह्यान्डबललगायतका खेल यसै हलभित्र आयोजना भए ।

पूर्वसदस्य सचिव लामाले मंगलबार सामाजिक सञ्जालमा आफ्नो कार्यकालमा बनाउन सुरु भएको कभर्डहल हाल पूर्णरूपमा तयार हुँदा गर्बिलो महसुस हुने भन्दै फोटोसहित पोस्ट गरे ।

त्यसको केही समयअघि मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘पोखरा कभर्डहल फुटसल लिगको तयारी अवस्थामा’ भनेर पोस्ट गरेका थिए ।

एन्फाले २ असोजबाट मोफसलमा फुटसल आयोजना गर्न लागेको हो । एन्फा नेतृत्वमा कर्मा आएपछि हुन लागेको यो पहिलो फुटसल लिग हो ।

यसपटक कर्माका नेतृत्वले फुटसल लिगलाई परिमार्जित गर्दै फिफा मान्यताअनुसार म्याटमै खेलाउँदैछ । यसअघि आर्टिफिसियल टर्फमा अभ्यास र लिग खेलेर नेपाली टोली एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न पुगेको हुन्थ्यो ।

यसपटक भने एन्फाले केही नौलो कार्य गर्दैछ । कर्माले आफ्नो नेतृत्व आएसँगै केन्द्रीय सदस्य दावा लामालाई फुटसल संयोजक नियुक्त गरेका थिए । तर पछिल्लो समय आफूविरोधी कार्य गरेको भन्दै गत ३ असारमा कर्माले दावाको पद खोसेका थिए । त्योसँगै उनले फुटसल संयोजकमा आफूनिकट विनोद गुरुङलाई ल्याएका हुन् ।

विनोदले नियुक्तिपत्र पाएसँगै कर्माले फुटसल लिग आयोजना गर्न तीव्रता दिएका थिए । पोखरामा २ देखि २२ असोजसम्म चल्ने प्रतियोगितामा १० टोली सहभागिता जनाउने छन् । त्यसअघि यी टोली क्षेत्रीय छनोट हुँदै केन्द्र आइपुगेका हुन् ।

हाल पोखरामा लिगका लागि एन्फाले सम्पूर्ण तयारी पूरा गरेको छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई सिंगल राउन्ड रोबिनको आधारमा खेलाइनेछ । अन्तिममा शीर्ष चार क्लबलाई प्लेअफको आधारमा खेल खेलाइने एन्फाले बताएको छ । पहिलो प्लेअफको विजेता सिधै फाइनल पुग्नेछ भने बाँकी टोलीले इलिमेटर राउन्ड खेल्नुपर्नेछ ।

लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेता दोस्रो टोलीले पाँच लाख पाउनेछ । यस्तै, प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र युवा खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सहभागी क्लब

फुटसल ५ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, शंखमूल फुटसल, प्रभातफेरी युथ क्लब, स्काई गोल्स फुटसल, स्पोर्टस् क्यासल, सविन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल र झर्ना स्पोर्टस् क्लब रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: