एउटा परमादेशले देउवालाई प्रधानमन्त्री बनायो, अर्को परमादेश कार्यान्वयन नहुँदा जनतालाई सास्ती (भिडियो) « Nagarik Khabar

एउटा परमादेशले देउवालाई प्रधानमन्त्री बनायो, अर्को परमादेश कार्यान्वयन नहुँदा जनतालाई सास्ती (भिडियो)



काठमाडौं । खिम्ति–ढल्केवर २२० केभी प्रसारण लाइन निर्माणस्थल सिन्धुलीका विभिन्न व्यक्तिले अहिले पनि मुआब्जा पाएका छैनन् ।

सो परियोजना निर्माण सम्पन्न भइसक्दा पनि हाइटेन्सनको मुन्तिर घर भएकाले समेत मुआब्जा पाउन नसकेको पीडितको गुनासो छ ।

खिम्ती–ढल्केवर प्रसारण लाइनको सिन्धुलीको खुर्कोटदेखि भिमानसम्मका धेरै स्थानीय बासिन्दाले मुआव्जा नपाएको संघर्ष समितिका अध्यक्ष सुरेन्द्रश्वर मोक्तानले बताए ।

पीडितहरुले न्याय नपाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सो मुद्दामा २०७४ माघ १५ गते उत्प्रेषण परमादेश जारी गर्दै सर्वोच्चले उचित मुआब्जा गराउन, पीडितलाई न्याय दिने सवालमा कुनै व्यवधान छन् भने कानुन बनाउन समेत आदेश दिएको छ । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन ।

सो आदेशको कार्यान्वयनका लागि सर्वोच्च अदालत आदेश कार्यान्वयन निर्देशनालयले तीनपटकसम्म पत्राचार भएको छ । तर, फैसला कार्यान्वयन नहुँदा पीडितहरु थप पीडित बनेको अध्यक्ष मोक्तानको भनाइ छ ।

जनतालाई मुआब्जा उपलव्ध गराउनुपर्ने मागप्रति व्यवस्था गर्दै स्थानीय प्रशासनले आफूलाई समेत मुद्दा लगाएर थुन्ने लगायतको काम गरेको उनको भनाइ छ ।

केही व्यक्तिले मुआब्जा पाएपनि अधिकांश पीडितहरुले भने अहिलेसम्म मुआब्जा नपाएको गुनासो उनको छ ।

सर्वोच्च अदालतको परमादेश बोकेर नागरिकखबरको कार्यालयमा आइपुगेका अध्यक्ष मोक्तानले भने, ‘हाम्रो देश पनि कस्तो, एउटा परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मिल्ने, हामी जनताको पक्षमा भएको परमादेश आदेशचाहिँ अलपत्र छाड्ने ?’

उनले पीडितहरुले मुआव्जा प्राप्त नभएमा पुनः संघर्ष गर्नुपर्ने स्थिति आएको बताए ।

कमलमाई नगरपालिका २ ढुंग्रेभञ्ज्याङका बलराम श्रेष्ठले आफूहरुको घर हाइटेन्सनकै मुनि परेपनि अहिलेसम्म क्षतिपूर्ति नपाएको बताए । उनले भने, ‘घरमाथिबाटै तार टाँगिसके तर अहिलेसम्म हामीले मुआब्जा पाएका छैनौं ।’

तारमुनि नै आफूहरुको घर रहेकाले अहिले पानी आउँदा हिँडडुल गर्न, घर बाहिर निस्कन डरमर्दो भएको उनले बताए । राज्यले पक्षपात नगरी हाइटेन्सन पीडितहरुलाई राहत दिनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: