च्याम्पियन लिग : पिएसजी ब्रगसँग बराबरीमा रोकियो « Nagarik Khabar

च्याम्पियन लिग : पिएसजी ब्रगसँग बराबरीमा रोकियो



काठमाडौँ । युइएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेन्ट जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे तिनै अट्याकरलाई प्लेइङ सेटमा उतारेपनि पिएसजीले गोलको खडेरी तोड्न सकेन ।

यद्यपि खेलमा अग्रता भ्रमणटोली पिएसजीलेनै बनायो । एम्बाप्पेले उपलब्ध गराएको बललाई आन्द्रे हेरेराले गोल गरे । हेरेराले खेलको १५औँ मिनेटमा गोल गरेका थिए ।

घरेलु टोली ब्रगका हान्स भनाकनले खेलको २७औँ मिनेटमा गोल गर्दै बराबरीमा पुर्‍याएका थिए ।

मेस्सी, नेयमार र एम्बाप्पेको साथ पाएको पिएसजीले बाँकी समय खेलमा दबाब बनाए पनि पहिलो खेलमै अंक बाँड्न बाध्य भयो ।

समूह ‘ए’अन्तर्गतको अर्को खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

इतिहाद मैदानमा गोल बर्षा हुँदा सिटीले विजयी सुरुवात गर्यो । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा ९ गोल भएका थिए ।

सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले १र१ गोल गरे भने लापजिगका नर्दी मुकियलेले १ आत्माघाति गोल गरे ।

त्यस्तै, भ्रमणकारी टोली लाइपजिगका क्रिष्टोफर नकुन्कुले ४२, ५१, ६३औँ मिनेटमा ह्याट्रिक पूरा गरे पनि टोलीको हार टार्न सकेनन् । यसअघि लाइपजिगका एन्जेलिनोले ७९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

खेलसँगै समूह ‘ए’मा ३ अंकसहित सिटी शीर्ष स्थानमा छ । बराबर खेलेका क्लब ब्रग र पिएसजीको सामान १ अंक रहँदा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पराजित आरबी लाइपजिग भने पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: