सेयर बजारमा आज उच्च गिरावट, नेप्से एकै दिन ११४ अंकले घट्दा २६ सय विन्दुमा ओर्लियो « Nagarik Khabar

सेयर बजारमा आज उच्च गिरावट, नेप्से एकै दिन ११४ अंकले घट्दा २६ सय विन्दुमा ओर्लियो



काठमाडौं । लगातार ओरालो लागेको सेयरबजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन (सोमबार)मा नै नेप्से ११४.०२ अंकले घटेको छ । यससँगै नेप्से २६९८.२५ विन्दुमा ओर्लिएको छ ।

आज कूल आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जनाएको छ । कूल १८५ वटा कम्पनीका एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर एक लाख सात हजार ५९६ पटक खरिद(बिक्री भएका थिए ।

कारोबार भएकामध्ये चार वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी १८१ कम्पनीको सूचक नकारात्मक बनेको छ । यस्तै ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा ओर्लिएको छ ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९९ प्रतिशतले कमाएका छन् । गुडविल फाइनान्ससहित सातवटा कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको थियो ।

यस्तै आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै ४० करोड ६५ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोही कम्पनीको सबैभन्दा धेरै छ लाख ५८ हजार ८१६ कित्ता सेयर कारोबार भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको सेयर सबैभन्दा धेरै तीन हजार ५९८ पटक किनबेच भएका थिए । नेप्सेका अनुसार आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: