बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गर्नु हुँदैन : भट्टराई (भिडियाे) « Nagarik Khabar

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गर्नु हुँदैन : भट्टराई (भिडियाे)



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अस्वभाविक ढिलाई भइरहेको बताएका छन् ।

सोमबार काठमाडौँको माइतिघरमा बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सुरु गरेको धर्नामा ऐक्यवद्धता जनाउँदै भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा भएको अस्वभाविक ढिलाइलाई पन्छाउँदै वर्तमान सरकारले यसलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले यसअघिको प्रतिगामी सरकार हटिसकेको भन्दै वर्तमान सरकारले जनताको जायज मागलाई सम्बोधन गर्दै आयोजना अघि बढाउनुपर्ने धारणा राखे । उनले आयोजनाको काम लामो समयसम्म पनि सम्पन्न हुन नसक्नु लज्जास्पद भएको टिप्पणी गरे । परियोजना पूरा गर्नका लागि स्थानीयहरु नै धर्नामा बस्नु दुर्भाग्य रहेको भट्टराईले बताए ।

आयोजनाका डुबान पीडित विभिन्न माग अघि सार्दै पुनःआन्दोलनमा उत्रिएका हुन् । उनीहरुले मुआब्जा पाउनुपर्ने जग्गाको तत्काल मुआब्जा वितरण गर्नुपर्ने, घर बस्ती भएको जग वा सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले तोकेको मूल्यमै वितरण गर्नुपर्नेलगायतका माग राखेका छन् ।

उनीहरुले असोज १० गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: