रोहिङ्ग्या शरणार्थीको तस्करी गरेको आरोपमा तीन जना पक्राउ « Nagarik Khabar

रोहिङ्ग्या शरणार्थीको तस्करी गरेको आरोपमा तीन जना पक्राउ



काठमाडौं । रोहिङ्ग्या शरणार्थीको तस्करी गरेको आरोमा २ म्यान्मारी र १ बंगलादेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले रोहिङ्ग्या शरणार्थीलाई प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ जना म्यान्मारी नागरिक र १ जना बंगलादेशी नागरिक छन् । बंगलादेशमा शरण लिएर बसेका रोहिङ्ग्या जातिका व्यक्तिलाई नेपालको बाटो भएर युरोप र अमेरिका पुर्‍याइदिन्छु भनेर प्रलोभनमा पारी नेपाल पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन तथा २७ वर्षीय शफिक आलम र बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्ला छन् ।

सीआईबीले गरेको अनुसन्धानअनुसार उनीहरुले बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुगेपछि अमेरिका जान पाइने र नेपालमा बस्दा मासिक भत्ता समेत पाइने भनेर प्रलोभनमा पार्ने गरेका थिए ।

उनीहरुले पुरुषलाई प्रतिमहिना ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पाइने तथा अन्य सुविधाहरु पनि राम्रो रहेको भन्दै भारतको बाटो हुँदै बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुर्‍याउने गरेको प्रहरीले जनाएको छ ।

त्यसबापत उनीहरुले १ जना व्यक्तिबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्र) लिने गरेको प्रहरीको भनाई छ । काठमाडौंको कपनसहितका ठाउँमा रहेका रोहिङ्ग्या शरणार्थीका शिविरमा नयाँ व्यक्तिहरु आउन थालेको सूचनापछि अनुसन्धान थालेको सीआईबीले शरणार्थीको नाममा मानव तस्करी हुने गरेको तथ्य फेला पारेको हो ।

सीआईबीका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: