एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै « Nagarik Khabar

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज काठमाडौंमा बस्दैछ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको आज पहिलो पटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिबारे छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने ? भन्ने विषयमासमेत छलफल हुनेछ । बैठकले केही नेताको विभागसमेत हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्ने सम्भावना रहेको छ ।

बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुनेछन । नेकपा (एकीकृत समाजवादी) पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । सङ्गठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ । बामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: