गुल्मी पहिरोः एकै परिवारका तीन दिदीबहिनीको मृत्यु « Nagarik Khabar

गुल्मी पहिरोः एकै परिवारका तीन दिदीबहिनीको मृत्यु



गुल्मी । गुल्मीमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको ज्यान गएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षीया जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

घरमाथिबाट आएको पहिरोले एक तले पक्की घर पुरिएपछि बीचको कोठामा सुतेका तीनै जना दिदीबहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

स्थानीय तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव आज बिहान साढे ४ बजे निकालेर पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

गएराति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईको नेतृत्वमा २५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: