मासिक उपचार खर्च दिने व्यवस्था गरेकोमा दीर्घरोगीले सरकारलाई दिए धन्यवाद « Nagarik Khabar

मासिक उपचार खर्च दिने व्यवस्था गरेकोमा दीर्घरोगीले सरकारलाई दिए धन्यवाद



काठमाडाैं । प्रतिस्थापन विधेयकमार्फत सरकारले मासिक उपचार खर्च दिने व्यवस्था गरेपछि दीर्घरोगीले सरकारलाई धन्यवाद दिएका छन् । उनीहरुले आज अर्थमन्त्री जनार्दन शर्मालाई नै भेटेर खुसी व्यक्त गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै दीर्घरोगीको उपचारका लागि मासिक भत्ता दिने व्यवस्था गरेका थिए । उक्त व्यवस्थापछि मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्रीलाई भेटेरै धन्यवाद दिएका हुन् ।

भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए । उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन दिए ।

‘आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउने बारे छलफल थालेका छौँ’, उनले भने । मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्यूरी भएका व्यक्ति छन् । उनले भने, ‘हाम्रो सुझाव र मागलाई अर्थमन्त्रीज्यूले सम्बोधन गरिदिनुभयो, यसका लागि हाम्रो समूह र मुलुकभर रहनुभएका सम्पूर्ण स्पाइनल कर्ड इन्ज्यूरी भएकाहरूको तर्फबाट धन्यवाद छ ।’

भेटपछि कायान्वयनको पक्षमा आफूहरूको आशंका समेत हटेको बताउँदै अध्यक्ष ढकालले अर्थ मन्त्रीको आश्वासनले आफूहरू हर्षित र सुन्तुष्ट भएको बताए । स्पाइनल कर्ड इन्ज्यूरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताए ।

उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ । स्पाइनल इन्ज्यूरी भएको बिरामीलाई नियमित रूपमा बउल ब्लाडर, सीवाइसी पाइप, युरिन ब्यागलगायतका सामग्री अवस्थाअनुसार आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: