एमाले स्थायी कमिटी बैठक केहीबेरमा, भीम रावल पनि बैठकस्थल पुगे « Nagarik Khabar

एमाले स्थायी कमिटी बैठक केहीबेरमा, भीम रावल पनि बैठकस्थल पुगे



काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा केहीबेरमा सुरु हुँदैछ । बिहान ११ बजे बोलाइएको बैठक साढे ११ बजेसम्म पनि सुरु भएको छैन । नेताहरु बैठक स्थल पुग्ने क्रम जारी छ ।

विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल गर्न बोलाइएको बैठकमा भीम रावल र घनश्याम भुसाल कडा रुपमा प्रस्तुत हुने स्रोतको भनाइ छ ।

पार्टी एकताका लागि प्रस्ताव गरिएको १० बुँदे सहमति कार्यान्वयनबारे रावल र भुसालले स्पष्ट पार्न अध्यक्ष केपी शर्मा ओलीसँग माग गर्ने बुझिएको छ ।

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आइतबार राखिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले बोल्न लाग्दै गर्दा उपाध्यक्ष रावल बैठक स्थलबाटै बाहिरिएका थिए ।

यसअघि तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन वटा प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो ।

छलफलबाट धेरैजसोको सुझाव ७ जना उपाध्यक्ष राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए।

आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकले उक्त सुझावलाई ग्रहण गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गरेर टुंग्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: