रुपन्देही घटनाबारे एमालेको आरोप: सरकारले दशैंको मुखमा चार जनाको हत्या गर्‍यो ! « Nagarik Khabar

रुपन्देही घटनाबारे एमालेको आरोप: सरकारले दशैंको मुखमा चार जनाको हत्या गर्‍यो !



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा आइतबार रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति प्रश्न उठाएको छ ।

राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन गरेर सुकुम्वासीमाथि गोली चलाएको एमाले संसदीय दलका नेता खिमलाल भट्टराईले आरोप लगाएका छन् ।

दशैंको मुखमा चार जनाको हत्या हुनु दुखद् भएको भन्दै उनले १८ जना घाइतेको उपचार र मृतक परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग समेत गरेका छन् । ‘घटनाको भत्र्सना गर्छु । गृहमन्त्रीले आफ्नो जिल्लामा भएको घटना कुन मुखले हिँड्नुहुन्छ ?,’ उनले भने, ‘सुकुम्वासी हुन कसैलाई रहर हुन्छ, रहरले कोही सुकुम्वासी हुन्छ र ?’

‘रुपन्देहीमा भएको घटना दुखदायी छ, सुकुम्वासी र भूमिहीनको व्यवस्थापन नगरी दशैंको मुखमा गोली प्रहार भएको छ,’ उनले भने, ‘यो दशैंलाई दशा निम्त्याउने काम गृहमन्त्रीले गर्नु भएको छ।’

आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । सांसद भट्टराईले यो घटननाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको पनि बताए ।

सुकुम्बासी मारिँदा पनि सरकारले केही प्रतिक्रिया नदिएको भन्दै सांसद भट्टराईले सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: