संसद् सञ्चालन गर्न एमालेसँग छलफलका लागि तयार छु : सभामुख सापकोटा « Nagarik Khabar

संसद् सञ्चालन गर्न एमालेसँग छलफलका लागि तयार छु : सभामुख सापकोटा



काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सञ्चालन गर्न नेकपा (एमाले)सँग छलफलका लागि तयार रहेको बताएका छन् । संसद् चलाउनका लागि संवादकोे विकल्प नभएकाले सरोकालवाला सबै पक्ष संवादमा आउनुपर्ने उनले बताए ।

बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लखे गर्दै आफू प्रतिपक्ष दल नेकपा (एमाले)सँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको दाबी गर्दै आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई आह्वान समेत गरेका छन् ।

“संवादको विकल्प छैन । ढिलो चाँडो उहाँहरु आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरुलाई विनम्रतापूर्वक नै संसद्को गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै भएको बताएको छु,” उनले भने,“के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो । के गर्नुपर्छ त्यसका लागि म तयार छु । तर, सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसद्हरु सबैको दायित्व हुन्छ ।”

उनले आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्ने बताए ।

उनले कात्तिक ९ गतेको बैठकसम्म सकरात्मक वातावरण बन्छ भन्नेमा आफू आशावादी भएको बताए ।

“हाम्रो संसद्मा अहिले अलिकति समस्याहरु देखिएको छ, अबरुद्ध भइरहेको छ । १५ दिनको समय पनि छ, कात्तिक ९ गतेको बैठकसम्म सकरात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु,” उनले भने ।

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजय दशमीले सकरात्मक सोचको विकास गराउने आशा व्यक्त गरे ।

संसद्मा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै सञ्चार माध्यममा आएको कुरा सही नभएको उनको दाबी थियो । उनले संवेदनशील विषयहरु अगाडि बढाउन आफूले नरोकेको र सहजीकरण नै गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: