बिरामीको हेरचाह गर्दै दशैं मनाउँदै समाजसेवी उज्वल थापा « Nagarik Khabar

बिरामीको हेरचाह गर्दै दशैं मनाउँदै समाजसेवी उज्वल थापा



काठमाडौं । दशैं मनाउने शैली आआफ्नै छ । कोही मस्त खाएर जुवातासमा रमेका छन् त कोही गाउँघर पुगेका छन् । तर, समाजसेवी उज्वलविक्रम थापा भने दैनिकजसो अस्पताल पुग्छन्, गरिब दुःखी बिरामीलाई आर्थिक सहयोग गर्छन्, मानसिक हौसला प्रदान गर्छन्, आत्मबल बढाउँछन् ।

दशैंको रमझम माहौल छाडेर समाजसेवी थापा दिनहुँजसो कुनै न कुनै अस्पताल पुगेकै हुन्छन् । कहिले साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल त कहिले कीर्तिपुर वर्न अस्पताल ।

अरुबेला पनि हरेकजसो दिन अस्पतालमा बिरामीहरुको सेवामा बिताउने थापा दशैंमा पनि त्यो कदमलाई कुनै कमी आउन दिएका छैनन् ।

विशेषगरी थापाले सन् २०१५ देखि जलनका विरामीको सेवा गर्दै आएका छन् । अहिले पनि एसिड आक्रमणमा परेका विरामीको होस वा अग्निपीडित । तिनै बिरामीको सेवाका लागि खटिरहेका छन् ।

दशैंका बेलामा पनि उनी तिनै जलन भोगेका बिरामीहरुको सेवामा देखिएका छन् । उनी हुनेखानेका लागि सधैको दशै भएकाले गरिब दुखीलाई पीडाका बेला सहयोग गरेर भएपनि केही खुशी दिने प्रयास गरेको बताउँछन् ।

दशैंको रमाइलो त परैको कुरा, गरिब दुःखी बिरामीका लागि अस्पतालमा तिर्ने पैसा समेत नभएर समस्या व्यहोरिरहेका छन् । त्यस्ता बिरामीका लागि समाजसेवी थापा दरिलो पिल्लर बनेर उभिदिने गरेका छन् । उपचारका लागि पैसा सहयोग गरेर पीडामा मल्हम लगाउन थापा खटिने गरेका छन् ।

दशैंकै बेलामा पनि थापाले जलन भोगेका बिरामीका लागि सहयोग गरेका छन् । उनले कमरुदिनको श्रीमती बुनिनेहा खातुन र ६ वर्षको छोरा रिहानको उपचारका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन् । जलनबाटै कमरुदिनको दुई सन्तानकोे त मृत्यु नै भइसकेको छ । थापा उनको उपचारमा निरन्तर सहयोग र पैरवी गर्दै आइरहेका छन् ।

गोर्खाबाट जलन भोगेर काठमाडौ उपचारका लागि ल्याएकी गर्गी गुरुङ सकुशल आफ्नो गाउँ फर्किएका छन् । उनको उपचारका लागि पनि थापाले पहल कदमी लिएका थिए । उपचारपछि गर्गी गाउँ पुगेका तस्वीर पोष्ट गर्दै थापाले भनेका छन्, ‘गर्गी आफ्नो घर परिवार माझ दसैं मनाउन पुग्नुनै मेरो दसै को आशिर्वाद हो ।’

थापाले विगतदेखि नै एसिड आक्रमणविरुद्ध सशक्त अभियान नै चलाए । उनले लगन भोगेकाहरुको उद्दारदेखि उपचार र कानुनी लडाईमा समेत नजिकबाट सेवा गरे । त्यसैले पनि एसिड आक्रमणविरुद्धको अभियानमा सरकारको कानुनी साथ चाहिने बताउँदै आएका छन् । तर, पछिल्लो पटक सरकारले एसिड आक्रमणविरुद्धको ऐन पेश गर्न समेत ढिलाई गर्दा थापा दुखित छन् ।

दशैंको उपहारका रुपमा सरकारले एसिड आक्रमणविरुद्धको ऐन सदनमा पेश गरेर पास गरिदिएको भए त्यो भन्दा मानवीय काम अरु हुन नसक्ने भनाइ थापाको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: